नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्मको तथ्यांकले बैंकहरूको आधार दरसहित निक्षेप तथा कर्जाको ब्याजदरमा गिरावट आएको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.६९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ५.५६ प्रतिशत थियो । यसैगरी, विकास बैंकहरूको आधार दर ७.९२ प्रतिशतबाट घटेर ६.६५ प्रतिशत र वित्त कम्पनीहरूको ८.४८ प्रतिशतबाट घटेर ६.७४ प्रतिशत कायम भएको छ ।
कर्जाको ब्याजदरमा पनि उल्लेख्य कमी आएको छ । असोज मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.५० प्रतिशत थियो । उता, विकास बैंकहरूको कर्जाको ब्याजदर ८.७७ प्रतिशतबाट घटेर ७.५९ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशतबाट घटेर ८.३७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, निक्षेपको भारित औसत ब्याजदर पनि घटेको छ । वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर ३.८५ प्रतिशतबाट घटेर ३.०७ प्रतिशत कायम भएको छ । विकास बैंकहरूको ४.४५ प्रतिशतबाट ३.४४ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशतबाट ३.९७ प्रतिशतमा झरेको छ ।
यसैबीच, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशतबाट घटेर १.०१ प्रतिशत पुगेको छ । तर, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर भने २.५८ प्रतिशतबाट बढेर २.७५ प्रतिशत कायम भएको छ ।
ब्याजदर घट्दा कर्जा लिने व्यक्ति तथा व्यवसायीको ब्याज खर्च कम हुने देखिए पनि निक्षेपको प्रतिफल घट्दा बचतकर्ताको ब्याज आम्दानीमा भने दबाब पर्नेछ ।


