Banijya News

स्थानीय जनप्रतिनिधिसँग एमालेको अन्तरसंवाद, ओली र विद्यादेवी भण्डारीले सम्बोधन गर्ने

1
1.0K Shares

नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तरसंवाद गर्ने उद्देश्यले विशेष भेला आयोजना गरेको छ। पार्टीको स्थानीय विकास विभागको आयोजनामा शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहका जनप्रतिनिधिहरूको भेला हुन लागेको हो।

एमालेले शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने गरी कार्यक्रम तय गरेको छ। भेलामा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

पार्टीको स्थानीय विकास विभागले आयोजना गरेको उक्त भेलामा स्थानीय तहमा जनप्रतिनिधिहरूले गरिरहेका काम, विकास निर्माणका गतिविधि, सेवा प्रवाह तथा स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल हुने बताइएको छ। स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने र जनप्रतिनिधिबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शीर्ष नेताहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन्।

स्थानीय तहमा पार्टीको प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिहरूलाई एउटै मञ्चमा भेला गरेर उनीहरूका अनुभव, समस्या र सुझाव सुन्ने अवसरका रूपमा पनि यस कार्यक्रमलाई लिइएको छ। स्थानीय सरकारमार्फत नागरिकलाई प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।

एमालेले यसअघि मंसिर २ र ३ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरेको थियो। उक्त भेला सम्पन्न गरेको लगत्तै पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई लक्षित गरेर अर्को कार्यक्रम राखेको हो।

1

Scroll to Top