रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण हिमनदी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २० अर्ब रुपैयाँ नाघेको छ । तर, ठूलो परिमाणमा बीमा दाबी परे पनि पीडितले पाउने क्षतिपूर्ति रकम भने निकै न्यून रहेको छ । बाढी आएको साढे दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि कुल दाबीको तुलनामा भुक्तानी १ अर्ब रुपैयाँसमेत पुग्न सकेको छैन ।
नेपाल बीमक संघले सार्वजनिक गरेको मंसिर ३ गतेसम्मको अद्यावधिक विवरणअनुसार बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २० अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ । निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ५५६ वटा दाबी दर्ता भएका छन् । तीमध्ये हालसम्म २७६ वटा अर्थात् १०.७९ प्रतिशत मात्रै फछ्र्यौट भएका छन् ।
बीमा कम्पनीहरूले हालसम्म अग्रिम तथा अन्तिम भुक्तानीसमेत गरी कुल ८५ करोड ९८ लाख रुपैयाँ बीमितलाई उपलब्ध गराएका छन् । बाँकी दाबीमध्ये २ हजार २४१ वटा फछ्र्यौट हुन सकेका छैनन् । बीमक संघको विवरणअनुसार भुक्तानी हुन बाँकी दाबी रकम १२ अर्ब २० करोड ८३ लाख रुपैयाँ रहेको छ ।
सरकारले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित बीमितको दाबी छिटो फछ्र्यौट गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिए पनि प्रक्रिया अपेक्षाकृत अघि बढ्न सकेको छैन । बीमितका तर्फबाट आवश्यक कागजात तथा प्रमाण पर्याप्त रूपमा प्राप्त नभएको र स्थलगत निरीक्षण प्रतिवेदन आउन बाँकी रहेकाले दाबी फछ्र्यौटमा ढिलाइ भएको बीमा क्षेत्रको भनाइ छ ।
विशेषगरी जलविद्युत् आयोजनाका संरचनामा भएको क्षतिको मूल्यांकन जटिल हुने गरेको छ । यस्ता आयोजनाको क्षति यकिन गर्न विदेशी पुनर्बीमा कम्पनीका मूल्यांकनकर्तासमेत सहभागी हुनुपर्ने भएकाले निरीक्षण, मूल्यांकन र क्षतिपूर्ति निर्धारणमा समय लागिरहेको छ । यसले गर्दा दाबी भुक्तानी प्रक्रिया थप लम्बिएको हो ।
सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी
बीमक संघको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ । यस शीर्षकमा ५५२ वटा दाबीबाट करिब ९ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । त्यसैगरी इन्जिनियरिङ बीमामा करिब ३ अर्ब ८३ करोड, मोटर बीमामा ३ अर्ब १० करोड र सामुद्रिक बीमामा करिब २ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी परेको छ ।
कम्पनीगत रूपमा हेर्दा सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । कम्पनीमा २२४ वटा दाबीमार्फत ६ अर्ब ७२ करोड ३४ लाख ८६ हजार ७०६ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ । तर, मंसिर ३ गतेसम्म कम्पनीले एउटा पनि दाबी फछ्र्यौट गर्न सकेको छैन ।
दोस्रो स्थानमा रहेको सानिमा जीआईसी इन्स्योरेन्समा २४५ वटा दाबीबाट ३ अर्ब ६१ करोड २२ लाख ३ हजार ५० रुपैयाँ ७९ पैसा बराबरको दाबी परेको छ । कम्पनीले हालसम्म ५३ वटा दाबी फछ्र्यौट गरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै ४७१ वटा दाबी दर्ता भएका छन् । कम्पनीमा २ अर्ब ५३ करोड ५ लाख १२ हजार ९९२ रुपैयाँ ४३ पैसा बराबरको दाबी परेकोमा १२१ वटा फछ्र्यौट भइसकेका छन् । कम्पनीले ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ ।
सलिको इन्स्योरेन्समा २३३ दाबीबाट करिब १ अर्ब ५८ करोड ८५ लाख, नेको इन्स्योरेन्समा २५२ दाबीबाट १ अर्ब २६ करोड ३२ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६८ दाबीबाट १ अर्ब २६ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
यसैगरी, नेपाल इन्स्योरेन्समा ५७ करोड ६० लाख, आईजीआई प्रुडेन्सियलमा ९४ करोड ७५ लाख, एनएलजीमा ४९ करोड ५५ लाख, प्रभुमा ४१ करोड ७८ लाख, द ओरिएन्टलमा २४ करोड ३१ लाख, राष्ट्रिय बीमा कम्पनीमा २ करोड ७२ लाख र नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी परेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा भने बीमितका तर्फबाट दर्ता भएका ३७ वटा दाबी फिर्ता भएका छन् । फिर्ता भएका दाबी रकम घटाउँदा कम्पनीमा कायम दाबी रकम ८३ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीमा अब भुक्तानी गर्न बाँकी दाबीको संख्या ७२ वटा रहेको छ ।
समग्रमा बाढीबाट भएको ठूलो आर्थिक क्षतिको तुलनामा बीमा दाबी फछ्र्यौटको गति निकै सुस्त देखिएको छ । आवश्यक कागजात संकलन, प्राविधिक मूल्यांकन र पुनर्बीमा प्रक्रियालाई छिटो टुङ्ग्याउन नसके प्रभावित व्यवसायी, उद्योग तथा जलविद्युत् आयोजनाले क्षतिपूर्ति प्राप्त गर्न अझै लामो समय कुर्नुपर्ने देखिन्छ ।


