साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो विहीबार घटेर बन्द भएको नेप्से परिसूचक आज शुक्रबार ८.५७ अंक घटेर २६२८.१७ विन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ ।
१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६७.४३ अंक घटेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । हिजो विहीबार ५ अर्ब ४८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ । आज बैंकको शेयरमूल्य समायोजन भई कारोबार खुलेको हो । त्यस्तै, माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने बेष्ट फाइनान्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत बढेको छ । कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.३७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २४ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको साढे २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन उर्जा विकास कम्पनीको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ ।


