नेपालमा हुन्डी कारोबार परम्परागत अनौपचारिक आर्थिक गतिविधिबाट प्रविधिमा आधारित संगठित अन्तरदेशीय सञ्जालका रूपमा विस्तार हुँदै गएको पाइएको छ । बैंक खाता, डिजिटल वालेट, रेमिट्यान्स कम्पनीका उपएजेन्टदेखि क्रिप्टोकरेन्सीसम्म प्रयोग गरेर हुन्डी कारोबार भइरहेको नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू नेपाल) को रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ ले देखाएको छ ।
प्रतिवेदनअनुसार सन् २०२५ जनवरी २ देखि सन् २०२६ जुलाई १६ सम्म वित्तीय जानकारी इकाइमा प्राप्त १५ हजार ८१५ शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदनमध्ये एक हजार ६७२ वटा हुन्डीसँग सम्बन्धित छन्। यो कुल प्रतिवेदनको १०.५७ प्रतिशत हो। यसले नेपालको वित्तीय प्रणालीभित्र हुन्डी कारोबारको जोखिम उल्लेख्य रहेको देखाउँछ ।
हुन्डीसँग सम्बन्धित शंकास्पद कारोबारका प्रतिवेदनमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकबाट प्राप्त भएका छन्। वाणिज्य बैंकबाट एक हजार ५०३, विकास बैंकबाट १२०, फाइनान्स कम्पनीबाट २८, रेमिट्यान्स कम्पनीबाट १३ तथा भुक्तानी सेवा प्रदायक र सञ्चालकबाट आठवटा प्रतिवेदन प्राप्त भएको इकाइले जनाएको छ । वित्तीय जानकारी इकाइले तीमध्ये २०० वटा प्रतिवेदनलाई नमुनाका रूपमा छनोट गरी विस्तृत अध्ययन गरेको थियो।
अध्ययनले हुन्डी कारोबारमा विभिन्न उमेर समूह र पेसाका व्यक्तिहरू संलग्न रहेको देखाएको छ । शंकास्पद कारोबारसँग जोडिएका व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन् । उमेरका आधारमा २५ देखि ४४ वर्ष समूहका व्यक्तिको हिस्सा ६५.५ प्रतिशत रहेको छ । यसले सक्रिय आर्थिक तथा व्यावसायिक उमेर समूहका व्यक्तिहरू हुन्डी कारोबारसँग बढी जोडिएको संकेत गर्छ ।
भौगोलिक रूपमा हेर्दा हुन्डीसम्बन्धी शंकास्पद कारोबारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी छ । अध्ययनमा समेटिएका व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशतको दर्ता ठेगाना मधेश प्रदेशमा रहेको पाइएको छ । कोशी प्रदेशको हिस्सा १६ प्रतिशत, लुम्बिनीको १२.५ प्रतिशत, बागमतीको ८.५ प्रतिशत र गण्डकीको सात प्रतिशत छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिस्सा भने समान १.५ प्रतिशत रहेको छ ।
जिल्लागत रूपमा सिरहा सबैभन्दा अगाडि देखिएको छ । सिरहाको हिस्सा १०.५ प्रतिशत रहँदा सप्तरीको १० प्रतिशत, सुनसरीको नौ प्रतिशत, धनुषाको आठ प्रतिशत र महोत्तरीको ७.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
व्यावसायिक क्षेत्रका आधारमा खुद्रा व्यापार र रेमिट्यान्स उपएजेन्ट हुन्डी कारोबारको प्रमुख माध्यमका रूपमा देखिएका छन् । हुन्डीसँग जोडिएका व्यावसायिक संस्थामध्ये खुद्रा व्यापार गर्ने संस्थाको हिस्सा ४३ प्रतिशत र रेमिट्यान्स उपएजेन्टको हिस्सा ४१.५ प्रतिशत छ । यी दुई क्षेत्रको संयुक्त हिस्सा ८४.५ प्रतिशत पुग्छ । यसले वैध व्यापार तथा रेमिट्यान्स सेवाको आवरणमा समेत अवैध वित्तीय कारोबार हुन सक्ने जोखिम औंल्याएको छ ।
त्यस्तै, अध्ययनमा समेटिएका शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदनमध्ये करिब ४० प्रतिशत बैंक खाता खोलेको एक वर्षभित्रै वित्तीय जानकारी इकाइमा पुगेका छन् । विद्यार्थी तथा गृहिणीका नाममा खोलिएका बैंक खातासमेत शंकास्पद कारोबारमा प्रयोग भएको पाइएको छ । यसले हुन्डी कारोबारीले आफ्नो पहिचान लुकाउन तेस्रो व्यक्तिका बैंक खाता प्रयोग गर्ने गरेको हुन सक्ने प्रतिवेदनको निष्कर्ष छ ।
अनुसन्धान र बिगो दाबी बढ्दै
नेपाल प्रहरीको तथ्यांकले पनि हुन्डी कारोबारको विस्तार र यससँग जोडिएको संगठित गतिविधि बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८२/८३ को जेठसम्म हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएका छन् । यस अवधिमा १९० मुद्दा अदालतमा दायर भएकामा १०३ मुद्दाको अन्तिम फैसला भएको छ ।
उक्त अवधिमा हुन्डीसम्बन्धी मुद्दामा तीन अर्ब ८७ करोड दुई लाख रुपैयाँ बिगो दाबी गरिएको छ । तीन अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति बरामद गरिएको छ भने १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का र दुई अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा हुन्डीसम्बन्धी १८ वटा अनुसन्धान सुरु भएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ६० पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ को जेठसम्म थप ५९ वटा अनुसन्धान सुरु भएका छन् । त्यस्तै, प्रतिमुद्दा जोडिने व्यक्तिको औसत संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा अन्तिम फैसला भएका मुद्दामा औसत १.८६ जना जोडिएकामा आर्थिक वर्ष २०८२/८३ को जेठसम्म यो संख्या ३.५३ पुगेको छ । यसले व्यक्तिगत तहमा सीमित नरही धेरै व्यक्ति संलग्न हुने सञ्जालका रूपमा हुन्डी कारोबार विस्तार भइरहेको संकेत गर्छ ।
रेमिट्यान्सदेखि सम्पत्ति शुद्धीकरणसम्मको जोखिम
प्रतिवेदनले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने प्रवृत्तिलाई हुन्डी विस्तारको प्रमुख कारण मानेको छ । यसका अतिरिक्त आयातमा न्यून बिजकीकरण, विदेशी मुद्रा प्राप्तिमा रहेका सीमितता, नगदमा आधारित अर्थतन्त्र र भारतसँगको खुला सीमाले पनि हुन्डी कारोबारलाई प्रोत्साहन गरिरहेको उल्लेख छ ।
हुन्डी कारोबार केवल अनौपचारिक रकम स्थानान्तरणमा सीमित नरहेको र सुन तस्करी, कर छली, अनलाइन जुवा, ठगी तथा सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधसँग समेत जोडिएको प्रतिवेदनको निष्कर्ष छ । डिजिटल प्रविधिको प्रयोगले कारोबारको गति र पहुँच बढाउनुका साथै वास्तविक सञ्चालक पहिचान गर्न थप चुनौती सिर्जना गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ‘क’ अनुसार हुन्डी कारोबारमा संलग्न व्यक्तिलाई बिगो जफतसहित एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सरकारले २०८१ पुस १८ गते राजपत्रमा सूचना प्रकाशित गर्दै हुन्डीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्बद्ध कसुरको सूचीमा समेत समावेश गरेको थियो ।
हुन्डी नियन्त्रणका लागि वित्तीय जानकारी इकाइले बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचान विवरण नियमित अद्यावधिक गर्न, शंकास्पद कारोबारको निगरानी बढाउन र कारोबारको वास्तविक हिताधिकारी पहिचान गर्न सुझाव दिएको छ । साथै, कारोबार निगरानीमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्ने, डिजिटल वालेटको प्रभावकारी अनुगमन गर्ने तथा उच्च जोखिमयुक्त क्षेत्रमा नियामकीय निगरानी बढाउन सिफारिस गरिएको छ ।
आगामी दिनमा हुन्डी कारोबारसम्बन्धी अर्धवार्षिक प्रतिवेदन तयार गर्ने, अन्तर्राष्ट्रिय वित्तीय जानकारी इकाइहरूसँग सूचना आदानप्रदान विस्तार गर्ने र संगठित सञ्जालमा केन्द्रित विश्लेषणलाई प्राथमिकता दिने योजना पनि इकाइले अघि सारेको छ । प्रविधिमा आधारित हुँदै गएको हुन्डी कारोबार नियन्त्रण गर्न परम्परागत निगरानी प्रणालीभन्दा प्रभावकारी वित्तीय सूचना विश्लेषण र अन्तरनिकाय समन्वय आवश्यक देखिएको छ ।


