Banijya News

इनमलाई धम्क्याउँदै बयान दिन लगाएको आरोप, आङ्देम्बेले उठाए राजनीतिक प्रतिशोधको प्रश्न

1
1.0K Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर पार्टी सभापति गगन थापालगायत नेताविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोपको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सापकोटामाथि दबाब दिएर बयान तयार पार्न लगाइएको भन्ने विषय सार्वजनिक भएपछि यस्तो माग गरेका हुन् । उनले घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

सापकोटाले आफ्नी श्रीमतीमार्फत शुक्रबार (मंसिर ११ गते) राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा आफूलाई कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए रिहा गरिदिने तथा बयान नदिए फसाइदिने धम्की दिइएको उल्लेख गरेको बताइएको छ । उक्त निवेदनमा गरिएको दाबीले अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको आङ्देम्बेको भनाइ छ ।

उनले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिलाई तयार पारिएको कागज पढ्न लगाउने र नमाने फसाइदिने धम्की दिने काम भएको हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आङ्देम्बेले सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनले सरकार सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको छ वा नियोजित रूपमा राजनीतिक प्रतिशोध साँध्ने प्रयास भइरहेको छ भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन् ।

“सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?” उनले प्रश्न गरेका छन् ।

उनका अनुसार हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर राजनीतिक दलका नेताविरुद्ध बयान दिन बाध्य पारिएको आरोप सत्य ठहरिए त्यसले अनुसन्धानकारी निकायको विश्वसनीयतामाथि मात्रै नभई समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै चुनौती खडा गर्नेछ ।

आङ्देम्बेले सापकोटा प्रकरणमा बयान प्रक्रियालाई मात्र नभई हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको भनिएको विषयलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । मोबाइल कसले जफत गर्‍यो, त्यसको प्रयोग कसरी भयो र बयान तयार पार्ने प्रक्रियामा को–को संलग्न थिए भन्ने विषयको निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको माग छ ।

राज्यका अनुसन्धानकारी निकायलाई कुनै राजनीतिक दल वा व्यक्तिविरुद्ध प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने उनको भनाइ छ । अनुसन्धानका नाममा राजनीतिक दबाब सिर्जना गर्ने वा व्यक्तिलाई जबर्जस्ती बयान दिन बाध्य पार्ने कार्य लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उनले बताएका छन् ।

“लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,” आङ्देम्बेले भनेका छन् ।

उनले सरकारलाई क्षणिक आवेग र स्वेच्छाचारिताबाट मुक्त भएर संविधान तथा विधिको शासनअनुसार सञ्चालन हुन आग्रह गरेका छन् ।

1

Scroll to Top