वित्तीय अनियमितता र आर्थिक अपचलनका कारण समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंकलाई खारेज नगरी पुनर्संरचना गरेर पुनः सञ्चालनमा ल्याउने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ। बैंकको कमजोर वित्तीय अवस्था सुधार्न पुँजी संरचना परिवर्तन गर्ने, नयाँ लगानीकर्ता भित्र्याउने र निक्षेपकर्तालाई समेत सेयरधनी बन्ने अवसर दिने रणनीति अघि सारिएको हो।
राष्ट्र बैंकको स्वीकृत योजनाअनुसार पुनर्संरचनापछि बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु¥याइनेछ। यसअघि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ थियो। पुँजी वृद्धि गर्न स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिइनेछ भने आवश्यकताअनुसार विदेशी लगानीसमेत भित्र्याउन सकिने व्यवस्था राखिएको छ।
बैंकको वित्तीय अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकको स्वामित्व भने अधिकतम एक प्रतिशतमा सीमित गरिने भएको छ। उनीहरूको संस्थापक तथा साधारण सेयर कटौती गरेपछि बैंकको चुक्ता पुँजी घटेर २९ करोड १ लाख रुपैयाँ कायम भएको छ। पुरानो स्वामित्व घटाएर नयाँ लगानीकर्तामार्फत बैंकको पुँजीगत आधार विस्तार गर्ने राष्ट्र बैंकको योजना छ।
पुनर्संरचनाको अर्को महत्त्वपूर्ण पक्षमा ठूला निक्षेपकर्तालाई बैंकको स्वामित्वमा सहभागी गराउने व्यवस्था छ। बैंकमा पाँच लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत ग्राहकले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशत रकम बराबरको सेयर स्वेच्छाले खरिद गर्न पाउनेछन्। यसका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ। निक्षेपलाई सेयरमा रूपान्तरण गर्न ग्राहक बाध्य भने हुने छैनन्।
योजनाअनुसार पुनर्संरचनापछि बैंकमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहनेछ। बाँकी पुँजी निक्षेपकर्ता तथा सर्वसाधारणबाट जुटाउने लक्ष्य राखिएको छ।
नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। कमजोर वित्तीय अवस्था, निष्क्रिय कर्जाको उच्च अनुपात र निक्षेपकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएपछि बैंकमाथि यस्तो कदम चालिएको थियो। त्यसअघि बैंकमा वित्तीय अनियमितता र रकम अपचलनका घटना सार्वजनिक भएका थिए।
समस्याग्रस्त घोषणा भएको करिब दुई वर्षपछि राष्ट्र बैंकले बैंकलाई पुनर्जीवन दिने विकल्प अघि सारेको हो। तर पुँजी वृद्धि र नयाँ लगानीकर्ता भित्र्याउँदैमा बैंकको समस्या समाधान हुने निश्चित छैन। खराब कर्जा असुली, अपचलन भएको रकम फिर्ता, आन्तरिक सुशासन र वित्तीय अनुशासन कायम गर्नु चुनौतीपूर्ण देखिन्छ।


