May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

कोभिडपछिको पर्यटन प्रवद्र्धनमा ‘वर्ल्ड टुरिजम मार्केट–२०२२’ सकारात्मक

कोभिडपछिको पर्यटन प्रवद्र्धनमा ‘वर्ल्ड टुरिजम मार्केट–२०२२’ सकारात्मक

विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट २०२२’ बेलायतमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीपछि आयोजित यो डब्युटिएममा नेपालले पनि सहभागिता जनाएको थियो । डब्ल्युटिएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका २४ वटा पर्यटन कम्पनी सहभागी भएका थिए । डब्ल्युटिएममा राखिएको नेपालको स्टलको कात्तिक २१ गते बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए ।

Advertisement

राजदूत आचार्यले नेपाली स्टलमा रहेका प्रत्येक सहभागी कम्पनीको निरीक्षण गर्नुका साथै सहभागी सबैलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि प्रयास गर्न प्रोत्साहित गरेका थिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मेलाले कोभिडपछि देशको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए ।

Advertisement

डब्ल्युटिएममा विश्वभरिका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय‚ अन्तरराष्ट्रिय पर्यटन संगठन, पर्यटन मन्त्रालय, प्राधिकरण, ट्राभल एजेन्ट, टुर अपरेटर, होटल व्यवसायी, ट्राभल टेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनी, सञ्चारमाध्यम, ब्लगर, पर्यटन विज्ञ, र व्यवसायीलगायत सबैले आ–आफ्ना पर्यटन उत्पादनहरू प्रदर्शन गरेका थिए ।

डब्ल्युटिएममा रहेको नेपाल स्टलमा बेलायत र अन्य विभिन्न देशका पर्यटन व्यवसायी, मार्केटिङ परामर्शदाता, मिडिया, टुर अपरेटर, निजी कम्पनी, ट्राभल लेखक, मिडिया, फोटोग्राफर, ब्लगर र विभिन्न सामग्री निर्माता सहभागी भएका थिए ।

नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा कात्तिक २२ गते लण्डनस्थित नेपाली दूतावासमा गरेको नेपाल साँझ विशेष कार्यक्रममा प्रख्यात बेलायती पर्वतारोही तथा साहसिक कार्यकर्ता सर क्रिस बोनिङटन र एलन हिङ्क्सले नेपालमा आफ्नो आरोहण तथा अनुभव सुनाउँदै बेलायतीहरूलाई जीवनभरको अनुभवका लागि नेपाल भ्रमण गर्न आह्वान गरेका थिए ।

कार्यक्रममा १ सयभन्दा बढी बेलायती ट्राभल टुर अपरेटर, बेलायती पर्वतारोही, सञ्चारमाध्यम र अन्य विशिष्ट व्यक्ति सहभागी भएको नेपाल पर्यटन बोर्डका प्रबन्धक गोविन्द ओलीले जानकारी दिए ।