Banijya News

हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

1
1.2K Shares

नारायणी डेभलपमेन्ट बैंकले यही असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले यो बैंकलाई सी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ।

गत आर्थिक वर्षमा नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ५० प्रतिशतभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७८-७९ मा जम्मा २.९४ प्रतिशत रहेको निष्क्रिय कर्जा २०७९-८० मा १८.४ प्रतिशत पुगेको थियो। त्यसपछि बैंकको वित्तीय अवस्था झनै बिग्रँदै गएको छ।

आर्थिक वर्ष २०८०-८१ सम्म यो कर्जा लगभग दोब्बरले बढेर ३५.२१ प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०८१-८२ मा यो कर्जा बढेर ५०.९७ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले यो बैंकलाई वित्तीय सुधारका लागि पत्र पठाइसकेको छ। राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

1

Scroll to Top