पूँजी बजारका विभिन्न ६ कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। शिवम होल्डिङ्ग्स, सनलाइफ क्यापिटल, नेशनल फण्ड म्यानेजमेन्ट, नबिल स्टक डिलर, हिमालयन ब्रोक्रेज र सुन्धारा सेक्युरिटिजले आ–आफ्नो वार्षिक साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्ने तयारी गरेका हुन्।
शिवम होल्डिङ्ग्सले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजीको २.५० प्रतिशतका दरले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसलाई पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ।
सनलाइफ क्यापिटलले हाल कायम चुक्ता पुँजीको करसहित ९ प्रतिशतका दरले २ करोड १४ लाख २० हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसका लागि कम्पनीले असोज २९ गते बिहान ९ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा बोलाएको छ।
नेशनल फण्ड म्यानेजमेन्टले ८१ करोड रुपैयाँ चुक्ता पुँजीको ४ प्रतिशतका दरले ३ करोड २४ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले १७ लाख ५ हजार रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको छ। यससँगै कम्पनीले कुल ४.२१ प्रतिशत लाभांश दिने भएको छ। लाभांश पारित गर्न असोज ३० गते बेलुकी ५ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बस्नेछ। उक्त सभाले २० प्रतिशत आईपीओ जारी गर्ने र ५० रुपैयाँ अंकित मूल्यलाई १ सय रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
नबिल स्टक डिलरले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले यसका लागि असोज ३१ गते बिहान ११ बजे चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ।
हिमालयन ब्रोक्रेजले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसलाई पारित गर्न कम्पनीले असोज २९ गते दिउँसो ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभाले हकप्रद सेयर निष्काशन र मर्जर प्रस्तावसमेत पारित गर्नेछ।
सुन्धारा सेक्युरिटिजले भने २० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेको छ। हाल कायम चुक्ता पुँजीको आधारमा कम्पनीले करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बेलुकी साढे ५ बजे काठमाडौंमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।


