Banijya News

औद्योगिक ग्रामदेखि निजी केबलकार सम्मका आयोजना राष्ट्रिय प्राथमिकताको सूचीमा

1
1.2K Shares

सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइनदेखि निजी क्षेत्रले निर्माण गर्न लागेको ६ वटा केबलकार आयोजनासहित २० परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारी लगानीमा निर्माणाधीन औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइनका आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरिएको हो । यससँगै निजी क्षेत्रबाट सञ्चालन हुने ६ केबलकार आयोजना पनि प्राथमिकतामा सूचीकृत भएका छन् ।

जेनजी आन्दोलनपछि गठन भएको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले यी आयोजनालाई प्राथमिकताको सूचीमा राखेको हो । मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार राजपत्रमा प्रकाशन भइसकेपछि यी आयोजनाले विभिन्न सरकारी सुविधा प्राप्त गर्नेछन् । आयोजनाको निर्माणमा अवरोध आएमा राज्यले समाधानमा अग्रसरता लिने व्यवस्था छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त औद्योगिक ग्राममा बराहक्षेत्र औद्योगिक ग्राम (सुनसरी) र जोरायल औद्योगिक ग्राम (डोटी) रहेका छन् । त्यस्तै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत दमक औद्योगिक क्षेत्र (झापा), मयुरधाप (मकवानपुर), शक्तिखोर (चितवन), लक्ष्मीपुर (दाङ), मोतीपुर (रुपन्देही), नौवस्ता (बाँके) र दैजी (कञ्चनपुर) औद्योगिक क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पाँचखाल विशेष आर्थिक क्षेत्र (काभ्रे) र हरैया विशेष आर्थिक क्षेत्र (कैलाली) सूचीमा समावेश भएका छन् । यस्तै, कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी पनि प्राथमिकतामा परेका छन् । यी आयोजना नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत निर्माण भइरहेका छन् ।

नेपाल आयल निगमका आयोजनामध्ये भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल, अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा टर्मिनल निर्माण आयोजना पनि प्राथमिकतामा परेका छन् ।

निजी क्षेत्रबाट सञ्चालन हुने सत्यवती दर्शन केबलकार (पाल्पा), सानो पाथीभरा (इलाम), सिक्लेस अन्नपूर्ण (कास्की), ड्रीम्स हिल्स (चितवन÷नवलपरासी), सुपा देउराली (अर्घाखाँची) र सूर्यकुण्ड–गोसाइँकुण्ड (सिन्धुपाल्चोक) केबलकार परियोजना राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा परेका छन् । यी आयोजनाले प्राथमिकताका आधारमा कर तथा शुल्कमा छुट, वन क्षेत्र प्रयोग गर्न सहजता र सुरक्षाको ग्यारेन्टीजस्ता सुविधा पाउने छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा सूचीकृत आयोजना सार्वजनिक वा निजी साझेदारीमा सञ्चालन हुने परियोजना हुन् । औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसारका प्रावधानअनुसार निजी क्षेत्रका अन्य आयोजनालाई पनि यस्ता सूचीमा राख्न सकिन्छ । राजपत्रमा सूचीकृत भएका यी २० आयोजना अब राज्यको प्रत्यक्ष संरक्षण र सहजीकरणको दायरामा रहनेछन् ।

1

Scroll to Top