Banijya News

छिटो दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

1
1.2K Shares

प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भइसकेकाले छिटोभन्दा छिटो दल दर्ताका लागि आउन निर्वाचन आयोगले आह्वान गरेको छ । नयाँ राजनीतिक दल दर्ताका लागि कुनै कानुनी समस्या नरहेको तर समयको चाप रहेकाले छिटो तयारी गरेर आउन आयोगले आग्रह गरेको हो ।

दर्ता भएका दलमध्ये कुन–कुनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने हो, त्यसका लागि आयोगले सूचना निकाल्नेछ । आयोगमा सूचीबद्ध दलहरूले नै उक्त सूचनाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि पुनः दर्ता गराउन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका आवश्यक मापदण्ड पूरा गरेर दल दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नयाँ दल दर्ता गराउन चाहने राजनीतिक समूहले अहिले निवेदन दिन पाउने बताए । ‘संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको सूचना निकाल्नुपर्छ । त्यसरी सूचना निकाल्दा जुन दल पहिलेदेखि दर्ता छ, त्यसले मात्र निर्वाचनका लागि दल दर्ता गराउन पाउँछ,’ उनले भने । अहिले आयोगमा १ सय २२ वटा दल दर्ता छन् ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (ञ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनिएको छ । त्यसअनुसार आगामी २० कात्तिकदेखि निर्वाचन अवधि सुरु हुनेछ । आयोगले निर्वाचनका कार्यक्रमहरू प्रारम्भ गर्नेछ । निर्वाचन कार्यक्रम प्रारम्भ हुनासाथ आयोगले दल दर्ता गराउन आह्वान गर्ने अभ्यास छ । ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले २० साउनमा दल दर्ताको आह्वान गरिएको थियो । मतदान हुनुभन्दा १ सय ५ दिन अगाडि उक्त सूचना निकालिएको थियो ।

1

Scroll to Top