निःशुल्क सेयरको माग गर्दै निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका देशभरका कम्तीमा १० वटा जलविद्युत् आयोजनामा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी गराएको हो।
इप्पानका अनुसार बलेफी हाइड्रोपावर, मुनलाइट हाइड्रोपावर, सेवा हाइड्रोपावर, राइजिङ हाइड्रोपावर, गाउँघर उज्यालो हाइड्रोपावर, याम्बुलिङ हाइड्रोपावर, बलेफी इनर्जी हाइड्रोपावर, अपर बलेफी हाइड्रोपावर, नेसमखोला हाइड्रोपावर र सिता हाइड्रोपावर गरी कुल १० वटा आयोजनामा विभिन्न बहानामा स्थानीयले काम रोकेका छन्।
स्थानीयहरूले १० प्रतिशत निःशुल्क सेयरको माग गर्नुका साथै पूर्वाधार विकास अन्तर्गत सडक, विद्यालय र स्वास्थ्य सेवासहितका स्थानीय पूर्वाधारमा लगानी गर्नुपर्ने भन्दै आयोजनास्थलमा अवरोध गरेका हुन्। कतिपयले समयमै सेयर जारी नगरेको विषयलाई आधार बनाएर धम्क्याउने र काममा अवरोध पुर्याउने गरेको इप्पानले जनाएको छ।
इप्पानका अनुसार धितोपत्र बोर्डले समयमै आईपीओ निष्कासनमा स्वीकृति नदिँदा ऊर्जा उत्पादक कम्पनीहरूले गम्भीर समस्या भोगिरहेका छन्। यही ढिलासुस्तीका कारण गैरकानुनी रूपमा निःशुल्क सेयर माग्नेहरूको मनोबल बढेको इप्पानको ठहर छ।
निजी क्षेत्रले विद्यमान कानुन र धितोपत्र सूचीकरण तथा वितरण नियमावली २०६५ अनुसार प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर दिँदै आएको स्पष्ट पार्दै, इप्पानले नियमविपरीत निःशुल्क सेयर दिन नसकिने अडान दोहोर्याएको छ।
आयोजना निर्माणमा बारम्बार हुने अवरोधका कारण ठूलो आर्थिक क्षति भइरहेको भन्दै इप्पानले तत्काल शान्ति सुरक्षासहितको लगानी वातावरण बनाउन सरकारसँग माग गरेको छ।
संस्थाले निःशुल्क सेयर मागेर आयोजनामा अवरोध गर्नेलाई निरुत्साहित गर्न, सुरक्षा निकायका प्रमुखहरू र स्थानीय पालिकाका प्रमुखहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
साथै, इप्पानले ऊर्जा आयोजनाको सुरक्षा नीति निर्माणका लागि अनुरोध गर्दै विद्युत् आयोजनाको सुरक्षार्थ विशेष सुरक्षा दस्ता निर्माण गर्न समेत गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग आग्रह गरेको छ। प्रत्येक आयोजनामा शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीको व्यवस्थापन गर्न समेत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ।


