Banijya News

बबई सिँचाइका ६ वटा ठेक्का तोड्न प्रक्रिया सुरु

1
1.1K Shares

सिँचाइ मन्त्रालयले बबई सिँचाइ आयोजनाको ठेक्का तोड्न सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले बिहीबार १५ दिनको समय दिएर ठेक्का सम्झौता अन्त्य गर्नु पूर्व सूचना जारी गरेको हो ।

ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्न लागेको हो । आयोजनाले पटक-पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको सूचनामा उल्लेख छ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७-७८मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारवटाको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई हालै निर्देशन दिएका थिए।

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । तीमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ।

1

Scroll to Top