काठमाडौं महानगरपालिकाले झण्डै १० करोड लागतमा काठमाडाैंका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुर्याएको छ । महानगरले सहरको सौन्दर्य र सुरक्षालाई ध्यानमा राख्दै सुरु गरेको यस परियोजना तिहारअघि नै पूरा हुने छ ।
महानगरको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीका अनुसार सहरका ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा पोल गाडी बत्ती जडानको काम भइरहेको छ ।
६२ चोकमध्ये २१ चोकमा १२.५ मिटरका पोल र ४१ चोकमा १६ मिटर अग्ला पोल जडान भइरहेका छन् । यी पोलहरूमा क्रमशः ६ र ८ वटा बत्तीहरू जडान गरिँदैछ ।
करीब ९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यो सम्झौता २०८१ पुस २३ गते निर्माण पक्षसँग भएको र काम २०८२ पुस ३० गते भित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
तर, तिहार पर्वलाई लक्षित गर्दै महानगरले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न लागेको हो। तिहारको उल्लासमा सहर झन् उज्यालो बनोस् भन्ने उद्देश्यले कामलाई तीव्र बनाइएको छ।
यी हाइ मास्ट बत्तीहरू १ हजार वाट क्षमताका छन् र सेफ्टवेयर प्रणालीमा आधारित छन् । आवश्यकताअनुसार यी बत्तीहरूलाई चर्को वा मधुरो प्रकाशमा नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।


