चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट असोजसम्म ६३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ । यस विमानस्थलबाट ५३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ भने ९ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
अन्य व्यापार भने स्थलमार्गबाटै भएको छ । तीन महिनामा नेपालले कुल ४ खर्ब ६८ अर्बको वस्तु आयात गरेको छ । ७२ अर्ब ७८ करोड रुपैयाँ बराबर वस्तु निर्यात गरेको छ ।
तीन महिनाको तथ्यांक अनुसार वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै आयात–निर्यात हुने गरेको छ । यो नाकाबाट २ खर्ब १८ अर्ब ८१ करोडको वस्तु आयात भएको छ । जुन कुल आयातको ४६.७५ प्रतिशत हो ।
यस नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३६.१८ प्रतिशत व्यापार हो ।
भैरहवा नाकाबाट ७१ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ । ७ अर्ब ४४ करोडको निर्यात भएको छ । विराटनगरबाट ५८ अर्ब ७६ करोडको आयात हुँदा २१ अर्ब ६६ करोडको निर्यात भएको तथ्यांक छ ।


