कर्जा प्रवाह सुस्त भएपछि बैंक, वित्तीय संस्थाहरूमा रहेको करीब ८ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् ।
राष्ट्र बैंकले गत आइतवार निक्षेप संकलन बोलकबोल जारी गरी एकैपटक ९० अर्ब रुपैयाँ बजारबाट उठाएको थियो । बजारबाट उठाएको यो निक्षेप ४२ दिन पछिमात्र परिपक्व हुनेछ । यसैगरी मंगलवार स्थायी निक्षेप सुविधाअन्तर्गत बैंकहरूले ६ खर्ब ९५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । यो रकम भने बिहीवार परिपक्व हुनेछ ।
आइतवार निक्षेप संकलन बोलकबोलमार्फत जम्मा भएको रकममा बोलकबोलमार्फत नै २ दशमलव ७२ प्रतिशत ब्याज कायम भएको छ । यस्तै स्थायी निक्षेप सुविधाअन्तर्गतको जम्मा भएको निक्षेपमा भने ब्याजदर कोरिडोरको तल्लो सीमा अर्थात् निक्षेप संकलन दर तोकिएको २ दशमलव ७५ प्रतिशत ब्याजदर दिनुपर्छ ।
राष्ट्र बैंकले बजारमा ब्याजदर र नगद प्रवाह व्यवस्थित गर्नकै लागि ब्याजदर कोरिडोर बनाएर आफ्ना मौद्रिक उपकरण परिचालन गर्दै आएको छ । ‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि–२०७६’ अनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । यसका लागि राष्ट्र बैंकले तरलता प्रवाह र प्रशोचन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्छ ।
पछिल्लो २ वर्षयता बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले लगातार बजारबाट तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकले ब्याजदर कोरिडोर प्रभावकारी कार्यान्वयन गर्न भन्दै आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीतिबाट ब्याजदर कोरिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिने जनाएको थियो । जसअनुसार २०८१ फागुनदेखि स्थायी निक्षेप सुविधा अन्तर्गत बैंकहरूले आफूसँग भएको अधिक तरलता राष्ट्र बैंकमा जम्मा गर्न सक्ने प्रावधान छ ।
शुरूमा साताको २ दिनमात्र स्थायी निक्षेप सुविधा उपभोग गर्न सक्ने प्रावधान रहेकोमा गत वर्ष असारदेखि बढाएर तीनपटक पुर्याएको छ । स्थायी निक्षेप सुविधा लिनका लागि बैंकहरूसँग अन्तरबैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्ला ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात र खुद तरल सम्पत्ति तोकिएको सीमाभित्र रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको हुनुपर्ने प्रावधान छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि ठूलो रकम केन्द्रीय बैंकमा थुप्रिन थालेको राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागमा एक निर्देशक बताउँछन् । ‘बजारको ब्याजदरलाई सीमाभित्र राख्न राष्ट्र बैंकले मौद्रिक उपकरण सञ्चालन गर्ने हो,’ उनले भने । ‘यसैका लागि दिएको स्थायी निक्षेप सुविधाबाट ठूलो रकम केन्द्रीय बैंकमा होल्ड हुन थालेको छ, बैंकहरूले कर्जा बढाउने जोखिम लिन चाहेको देखिँदैन ।’ बैंकमा तरलता रकम बढ्दै गएपछि केन्द्रीय बैंकमा जम्मा हुने रकम पनि बढ्दै गएको उनले बताए ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूले ७५ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ५६ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज ३१ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४ दशमलव ६३ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधान अनुसार अझै साढे ११ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन सक्ने क्षमता छ । बैंकरहरू भने राष्ट्र बैंकका मौद्रिक उपकरणमा लगानी गर्नु बाध्यता भएको बताउँछन् ।
‘बैंकहरूले ५–६ प्रतिशत लागतमा उठाएको निक्षेप तीन प्रतिशतभन्दा कम प्रतिफलमा लगानी गर्नुपर्ने बाध्यता हो,’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले भने । कर्जा प्रवाह नहुँदा बैंकहरूले राष्ट्र बैंकको उकपरणमा लगानी गरेको उनले बताए । जेनजी आन्दोलनपछि यो रकम बढ्दै गएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको २ महिना (साउन–भदौ) मा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड रुपैयाँ अर्थात शून्य दशमलव ५ प्रतिशतले बढ्दा कर्जा ४९ अर्ब २४ करोड अर्थात शून्य दशमलव ९ प्रतिशतले बढेको छ, जुन गत आवको यसै अवधिमा १ दशमलव ४ प्रतिशतले बढेको थियो ।
बैंक, वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै ब्याजदर न्यून बिन्दुमा झरेको छ । भदौमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३ दशमलव ९६ प्रतिशत तथा कर्जाको ब्याजदर ७ दशमलव ६६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकमा उपलब्ध तथ्यांकका आधारमा यो ब्याजदर १० वर्षयताकै न्यून हो ।


