Banijya News

नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

1
1.1K Shares

नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले २ पुस (२५ डिसेम्बर)सम्म बोलपत्र पेस गर्न सक्नेछन् । विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि सेवाप्रदायक कम्पनी ल्याउन लागेको हो ।

नेपालमा सञ्चालनमा आउन लागेको यो पहिलो आधुनिक सुरुङमार्ग हो । तर, सुरुङमार्ग सञ्चालन गरेको अनुभव नेपालका कुनै पनि निकाय तथा कम्पनीसँग छैन । त्यसमाथि सडक विभागले जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनसँग निर्माणसम्बन्धी मात्रै काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

अहिले सुरुङमार्ग भौतिक रूपमा सञ्चालन गर्न सकिने अवस्थामा छ । तर, सेवाप्रदायक कम्पनी नहुँदा त्यो सम्भव भएको छैन । छनोट हुने कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्बन्धी सम्पूर्ण काम गर्नुपर्नेछ । सुरुङमार्ग सञ्चालन गर्न वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म लाग्ने अनुमान विभागले गरेको छ । यद्यपि, अब ठेक्का सम्झौता कतिमा हुन्छ ? त्यो हेर्न बाँकी छ ।

अत्याधुनिक प्रणाली समावेश रहेकोे सुरुङमा विभागको हाल उपलब्ध जनशक्तिबाट सञ्चालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्न लागिएको विभागको भनाइ छ । बोलपत्रमा सहभागी हुने कम्पनीले संयुक्त उपक्रम (जेभी)का रूपमा नेपाली कम्पनी अनिवार्य रूपमा राख्नुपर्ने परियोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए ।

सुरुङ २४सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवाप्रदायकले सिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि एक सय ५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि आठ–आठजना कर्मचारी रहने व्यवस्था गरिएको छ । बढीमा तीन महिनामा खरिद प्रक्रिया टुंगो लगाएर छनोट हुने कम्पनीलाई सुरुङमार्ग सञ्चालन गर्न दिने प्रमुख नेपालले बताए । ‘४५ दिन त बोलपत्र पेस गर्ने समय नै छ । त्यसपछिको एक महिनामा खरिद प्रक्रिया टुंग्याएर कम्पनी छनोट गर्ने हो ।

यसअघि १ जनवरी २०२६ बाट सुरुङमार्ग सञ्चालन गर्न लक्ष्य राखिएको थियो । तर, अब त्यो मितिमा सुरुङमार्ग सञ्चालनमा आउने छैन । खरिद प्रक्रिया टुंगिएर सेवाप्रदायक कम्पनी छनोट भएपछि मात्रै सुरुङमार्ग सञ्चालन गरिनेछ । त्यो हँुदा सुरुङमार्ग सञ्चालनमा आउने मिति केही समय पछि धकेलिने परियोजना निर्देशक नेपालले बताए । यद्यपि, बिचमा परीक्षणका लागि सुरुङमार्ग खुला गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि उपभोग दस्तुर (टोल ट्याक्स) स्वीकृत गरेको छ । परीक्षणको अवधिमा निःशुल्क प्रयोग गर्न दिएपछि व्यावसायिक सञ्चालनमा तोकिएको शुल्क तिर्नुपर्नेछ ।

1

Scroll to Top