सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको बिलिङको ठेक्काका बारेमा अध्ययन गर्न छानवीन समिति बनाएको छ। मन्त्रीस्तरीय निर्णयबाट यस्तो समिति बनेको हो।
पूर्वर्ती सरकारको पालामा भएको सेटिङकै आधारमा प्रचलित नियम कानून र कम्पनीकै दीर्घकालीन हितविपरीत हुनेगरी हुवावेलाई ठेक्का दिने योजना अघि बढेपछि मन्त्रीले छानवीनका लागि समिति बनाएका हुन्।
अदालतको आदेश, नियामक दूरसञ्चार प्राधिकरणको राय, परामर्शदाता कम्पनीको सुझाव विपरीत हुवावेलाई बिलिङको ठेक्का दिनका लागि प्रक्रिया अघि बढेको छ। संवेदेनशील प्रणालीमा हुवावेको एकल नियन्त्रण हुनेगरी निरवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा काम अघि बढाइएको थियो।
आन्दोलनपछि बनेको सरकारले उक्त ठेक्का प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको थियो। फेरि टेलिकमले काम अघि बढाउन खोजेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले छानवीन समिति बनाएका हुन्।
पूर्व सचिव मणिराम गेलालको संयोजकत्वमा बनेको समितिमा मन्त्रालयका सहसचिव गौरव गिरी, आदेश खड्का र कृष्ण पन्तद सदस्य छन्। त्यस्तै नेपाल टेलिकमबाट कमल लामिछाने र दूरसञ्चार प्राधिकरणबाट प्रदीप पौडेल पनि समितिमा रहेका छन्।


