गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।
कार्यालयले हालै प्रकाशित गरेको त्रैमासिक तथ्यांकअनुसार उक्त त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को सोही अवधिमा भन्दा राम्रो भएको अनुमान गरिएको छ । अघिल्लो आव सोही अवधिमा जीडीपीको वृद्धिदर ३ दशमलव ३ प्रतिशत थियो ।
यो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा विद्युत् उत्पादन तथा वितरण, यातायात तथा भण्डारण र वित्तीय तथा बीमाक्षेत्रमा भएको वृद्धि प्रमुख कारक रहेको मानिएको छ ।
कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार समग्रमा उक्त त्रैमासमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ । यद्यपि यस अवधिमा खानी तथा उत्खनन, पानी तथा फोहोर व्यवस्थापन र औद्योगिक उत्पादनमा सामान्य वृद्धि भएको अनुमान छ ।
प्रतिवेदनअनुसार वित्तीय तथा बीमाक्षेत्रसँग सम्बद्ध क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर १६ दशमलव २ प्रतिशत रहेको अनुमान गरिएको छ । यस क्षेत्रलाई पछ्याउँदै विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा १४ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रमा १० दशमलव १ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । वर्षे बाली, तरकारी बाली तथा केही नगदे बालीहरूको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको तथ्यांक कार्यालयका निर्देशक दिनेश भट्टराईले जानकारी गराए । उनका अनुसार आव २०८१/८२ को चौथो त्रैमासमा अर्थतन्त्रको दोस्रो ठूलो अंश ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५ दशमलव ७ प्रतिशत भएको अनुमान गरिएको छ ।
खासगरी, कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादन र प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण गर्दा यस क्षेत्रको वृद्धि ५ दशमलव ७ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसैगरी, अघिल्लो आवको चौथो त्रैमासको तुलनामा चालू आवको चौथो त्रैमासमा तुलनात्मक रूपमा सबैभन्दा कम खानी तथा उत्खनन शून्य दशमलव ४ र यो क्षेत्रपछि कम वृद्धिदर औद्योगिक वस्तुको उत्पादनमा १ दशमलव ५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस त्रैमासमा पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, आवास तथा भोजन क्षेत्रको वृद्धि हुने प्रारम्भिक अनुमान छ ।


