Banijya News

पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

1
1.2K Shares

रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा सञ्चालित फस्ट च्वाइस फूड्स उद्योगले उत्पादन गरेको नेपाली फ्रेन्च फ्राइज (आलुको परिकार) पहिलोपटक मित्रराष्ट्र अमेरिका निर्यात हुन थालेको छ। यसअघि नेपाली बजार र भारतमा मात्र सीमित निर्यातलाई विस्तार गर्दै उद्योगले तेस्रो मुलुकतर्फ पाइला चालेको हो।

फस्ट च्वाइस फूड्सले मङ्गलबार भैरहवा भन्सार कार्यालयमार्फत पहिलो चरणमा २१/२१ टन क्षमताका दुईवटा कन्टेनर कोलकाता बन्दरगाहका लागि छुटाएको हो। कुल ४२ मेट्रिकटन (५८ लाख रुपैयाँ वा अमेरिकी $३८,४८० मूल्य बराबर) को ‘हिमाल क्रिप्ट’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज अमेरिकी आयातकर्ता एलएलसीलाई पठाइएको हो। उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार यी सामग्रीलाई रेफ्रिजेरेटरसहित वातानुकूलित अवस्थामा कोलकाता बन्दरगाहसम्म पुर्‍याइनेछ र त्यहाँबाट पानी जहाजमार्फत करिब ५० दिनमा अमेरिका पुग्नेछ।

दुई अर्ब लगानीमा युरोपेली प्रविधिमा आधारित यो उद्योगले जर्मनी, टर्की र जापानबाट प्रविधि भित्र्याएको छ। पौडेलको उद्योगसँग देशभरका २६ जिल्लाका ३५ हजार किसान जोडिएका छन्। उद्योगले नेदरल्यान्डबाट उन्नत जातको आलुको बीउ ल्याएर वितरण गर्ने, मल, बीउ, सिँचाइ व्यवस्था, प्राविधिक सहयोग र कृषि अनुदानको व्यवस्था पनि गर्दै आएको छ। उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु प्रशोधन गर्ने लक्ष्य लिएको छ, जसबाट वार्षिक ५ अर्ब रुपैयाँ बराबरको फ्रेन्च फ्राइज उत्पादन गर्ने लक्ष्य छ।

आयात प्रतिस्थापन गर्ने उद्देश्यले पौडेलले स्थापना गरेको यो उद्योगले नेपालको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। पौडेलले भने, ‘नेपालमा खपत हुने फ्रेन्च फ्राइज विदेशबाट आयात हुने गरेकोमा अहिले ७५ प्रतिशत आयात विस्थापित भइसकेको छ। अबको एक वर्षभित्र आयात पूर्णरूपमा विस्थापित गर्ने लक्ष्य छ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले नेपाली फ्रेन्च फ्राइजको यो निर्यात देशको वैदेशिक मुद्रा आर्जन र व्यापार घाटा कम गर्नका लागि एक सकारात्मक सुरुवात भएको बताए। उत्पादनको गुणस्तर परीक्षणपछि अमेरिकाको सम्बन्धित निकायबाट निर्यात अनुमति पाएको उद्योगले अबदेखि हरेक हप्ता अमेरिकाका लागि फ्रेन्च फ्राइज निर्यात गर्ने जनाएको छ। पौडेलले अमेरिका निर्यात हुनु अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन प्रतिस्पर्धी छ भन्ने सन्देश दिनु रहेको बताएका छन्।

अमेरिका निर्यातपछि अब कम्पनीले यूएई, मलेसिया, साउदी अरब, र बेलायत जस्ता मुलुकहरूबाट आएका अर्डरहरूलाई समेत सम्बोधन गर्ने तयारी गरिरहेको छ। भविष्यमा फ्रेन्च फ्राइजसँगै आलु टिक्की, बर्गर, प्याटी, स्माइली ह्यास बाउन लगायतका परिकारहरू उत्पादन गर्ने योजना पनि उद्योगको छ।

1

Scroll to Top