राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् परियोजनाको लगानी जुटाउन ५० प्रतिशत मात्रै ऋण लिने र बाँकी ५० प्रतिशत स्वपुँजी (इक्विटी) मार्फत परिचालन गर्ने गरी नयाँ खाका बनाइएको छ ।
परियोजनाको वित्तीय लागत घटाउन र लगानीको आकर्षण बढाउन सरकारले पेट्रोलियम पदार्थमा उठाउँदै आएको पूर्वाधार करबाट प्राप्त हुने राजस्वको ५० प्रतिशत रकम सहुलियतपूर्ण ऋण का रूपमा परियोजनामा सीधै लगानी गर्ने प्रस्ताव गरिएको छ ।
तीन खर्ब ९८ अर्ब संशोधित लागत अनुमान गरिएको परियोजनामा यसअघि सरकारबाट सम्भाव्य पूर्ति लगानी (भिजिएफ) उपलब्ध हुँदा र नहुँदाको अवस्था गरी दुईवटा मोडेल प्रस्ताव गरिएको थियो । पहिलो विकल्पमा सरकारले भिजिएफ उपलब्ध नगराएमा इक्विटी र ऋणको अनुपात क्रमश: २५ र ७५ प्रतिशत रहने प्रस्ताव गरेको थियो । यसका लागि जग्गाप्राप्तिलगायतका काममा सरकारबाट भएको खर्चलाई इक्विटीमा समावेश गरी थप र सहुलियतपूर्ण ऋण लगानीको रूपमा उपलब्ध हुनुपर्ने प्रस्ताव गरिएको थियो ।
दोस्रो विकल्पमा भिजिएफ उपलब्ध भएमा इक्विटी र ऋण अनुपात क्रमश: ३० र ७० प्रतिशत रहने प्रस्ताव गरिएको छ । जग्गाप्राप्ति, सार्वजनिक पूर्वाधारको पुनस्र्थापना, वातावरण संरक्षण र वनक्षेत्र प्रयोगका लागि खर्चबापतको आवश्यक ७३ अर्ब रुपैयाँ सरकारले अतिसहुलीयतपूर्ण ऋण प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको थियो । तर, लागत रकम नै धेरै भएका कारण ७० प्रतिशतभन्दा धेरै अनुपातमा ऋण जुटाउन गाह्रो हुने देखिएपछि ५०:५० प्रतिशतको ऋण स्वपुँजी अनुपातको मोडेल प्रस्ताव गरिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोही मोडेलमा लगानीको नयाँ खाका पेस गर्न प्रवद्र्धक कम्पनी ‘बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’लाई निर्देशन पनि दिएका छन् । उनले मंगलबार राति यस विषयमा कम्पनीसँग छलफल गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले ५०:५० प्रतिशतको ऋण स्वपुँजी अनुपातमा परियोजना बनाउन सकिने बताए ।
सरकारले बुढीगण्डकी परियोजनालाई नै लक्षित गरेर ०७३ देखि पेट्रोलियम पदार्थमा १० प्रतिशत पूर्वाधार कर उठाउँदै आएको छ । अब त्यसरी उठ्ने राजस्वबाट ५० प्रतिशत रकम सहुलियत ऋण (१ प्रतिशत ब्याजदर)को रूपमा सीधै परियोजनाको खातामा आउने गरी व्यवस्था गर्न प्रस्ताव गरिँदै छ । त्यसो हुँदा ब्याजदर सस्तो भई परियोजना वित्तीय रूपमा समेत आकर्षित हुने सिइओ रजौरियाले बताए ।
तसर्थ, सहुलियत ऋण नै लिने हो । सरकारले यही परियोजनालाई लक्षित गरेर पूर्वाधार कर उठाउन सुरु गरेको हो । त्यसबाट उठेको राजस्वबाट आधा रकम सहुलियत ऋणको रूपमा सीधै परियोजनामा आउने गरी प्रस्ताव गर्न खोजेका छौँ,’ उनले भने । स्वपुँजीतर्फ ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतका सरकारी निकायबाट लगानी जुटाउने उनको भनाइ छ । यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारणबाट संकलन गर्ने प्रस्ताव गरिनेछ ।


