Banijya News

दोस्रो एनपिएलबाट ३५ करोड उठाउने लक्ष्य, टिकटबाट मात्रै १२ करोड

1
1.2K Shares

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा नेपाल क्रिकेट संघ (क्यान)ले ३५ करोडभन्दा बढी रकम उठाउन योजना बनाएको छ । पत्रकार सम्मेलन गर्दै क्यानका सचिव पारस खड्काले ३५ करोडभन्दा बढी रकम अनुमान गरेको बताएका छन् । क्यानले १५ करोड ३० लाख प्रयोजकबाट , नौ करोड सहभागी टिमहरूबाट र ओटिटीबाट पाँच करोड ३० लाख हुने जनाएको छ । त्यस्तै, टिकट बिक्रीबाट आठदेखि १२ करोडसम्म उठ्ने अनुमान गरेको छ ।

क्यानले उद्घाटन दिनको टिकट मूल्य एक हजार र एक हजार पाँच सय तोकेको छ । फाइनल र प्लेअफका लागि एक हजार र दुई हजार हुने जनाएको छ । समान्य दिन भने पाँच सय र एक हजार बताइएको छ । गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस सिजन साबिक विजेता जनकपुर बोल्ट्स, उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् । एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदै छ ।

क्यानले प्रतियोगिताको एक दिनअघि नै तयारी पूरा भएको जनाएको छ । हाल खेल हुने एक मात्रै त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइट जडान भएको छ । यस्तै, स्थायी १० हजार र तीन अस्थायी गरी कुल १३ हजार सिट जडान भएका छन् । यता, क्यानले यसपटक पुरस्कार राशि भने वृद्धि गरेको छैन । क्यान सचिव पारस खड्काले पुरस्कार वृद्धि नहुने घोषणा गरेका हुन् । गत वर्ष च्याम्पियन भएको जनकपुरले एक करोड १० लाख पाएको थियो । उपविजेता भएको सुदूरपश्चिमले ५१ लाख प्राप्त गरेको हो । त्यस्तै, तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवनले १५ लाख प्राप्त गरेका थिए ।

1

Scroll to Top