सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा ठूलो फड्को मार्ने लक्ष्यसहित निजी क्षेत्रको सात अर्ब लगानीमा चिसापानी–राजकाँडा केबलकार निर्माण भैरहेको छ । जालपादेवी केबलकार कम्पनी प्रालिले पहिलो चरणको निर्माण कार्य आगामी २०८३ साल वैशाखसम्म सम्पन्न गर्ने गरी केबलकार निर्माणको कार्यलाई तिब्रता दिएको छ ।
गत वर्ष पुस महिनाबाट औपचारिक रूपमा निर्माण सुरु भएको यस परियोजनाले छोटो समयमै उल्लेख्य प्रगति गरेको छ।
केबलकारका १४ टावरमध्ये ७ वटा निर्माण भइसकेका छन् भने ७ वटाको पिपिसि भइरहेको कम्पनीले जनाएको छ । सँगसँगै केबलकारको टप र बटम स्टेशन निर्माण पनि आधाभन्दा बढी भइसकेको कम्पनीले जनाएको छ । दुई वर्षमा निर्माण सम्पन्न गरी पूर्णरुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले पहिलो चरणमा २०८३ बैशाखमा केबलकार सञ्चालन गर्ने र दोस्रो चरणमा पाँच तारे होटल, क्यासिनो, फनपार्कलगायत निर्माण गर्ने जनाएको छ ।
कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले एक वर्षमै केबलकार सञ्चालन गर्ने लक्ष्य अनुसार काम भइरहेको बताए । यसैगरी, कम्पनीले टप स्टेशन राजकाँडामा जलपादेवीको मन्दिर पुनर्निर्माण र रेष्टुरेन्टसमेत बनाइरहेको छ । राजकाँडामा जिलपलाइन, स्काई साइकिल, ज्यानसङ र क्लासब्रिज जस्ता एडभेञ्चर पर्यटनको विकास गर्ने योजना रहेको थापाले बताए ।
एक पिलरमा बनेको कर्णाली पुल हेर्न, भिडियो बनाउन आउने पर्यटकको सधैं भीड रहने चिसापानीमा विदेशी पर्यटकसमेत भित्र्याउने लक्ष्यका साथ केबलकार, होटल, क्यासिनो र ब्यांकट हल निर्माण गरिरहेको थापाले बताए । केबलकार निर्माण योजनाको २०८१ पुस १३ गते चिसापानीमा बटम स्टेशन सिलान्यास गरिएको थियो ।
केबलकारको राइट अफ वे मा पर्ने एक हजार ८६६ वटा रुख काटिएको थियो । केबलकार सञ्चालनका लागि नेपाल सरकारले २० बिघा जमिन कम्पनीलाई दिएको छ । चिसापनीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १४ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । चिसापानीदेखि राजकाँडासम्मको केबलकार यात्रा करिब १० मिनेटको रहने कम्पनीले जनाएको छ । सञ्चालक थापाले केलबकारबाट दैनिक ५ हजार जनाले सेवा लिन सक्ने जनाए ।
केबलकार निर्माणसँगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालीकादेवीको मन्दिरको स्तरोन्नती गरिनुका साथै राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटलसमेत निर्माण भइरहेको सञ्चालक थापाले बताए । उनले दुई वर्षमा होटलसमेत निर्माण सम्पन्न गरी सञ्चालन गरिने बताए । केबलकारबाट राजकाँडा जाने पर्यटकलाई जालपादेवी, कालभैरव, कालीकादेवी, कैलाशधामलगायतका धार्मिक स्थल, हात्ती ढुंगालगायतको अवलोकन गर्ने व्यवस्था मिलाइने छ ।
जालपादेवी केबलकार सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्र ठूलो लगानीमा बनिरहेको पहिलो पर्यटकीय पूर्वाधार हो । यसमा ६० प्रतिशत स्थानीय लगानीकर्ता र ४० प्रतिशत चन्द्रागिरी केबलकार कम्पनीले लगानी गरिरहेको छ । केबलकारबाट हुने कुल आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने छ भने हजारौं व्यक्तिका लागि रोजगारी समेत सिर्जना हुने सञ्चालक थापाले बताए ।
चिसापानी पहाड र तराइको संगमस्थल हो भने राजकाँडा चुरे पहाडको सबै भन्दा अग्लो ठाउँ हो । चिसापानीमा एकदमै गर्मी भइरहेको बेला राजकाँडामा चिसो मौसम हुन्छ । केबलकार बनेपछि १० मिनेटकै अन्तरमा फरक मौसमको अनुभव लिन पाइने सञ्चालक थापाले बताए ।


