Banijya News

आजदेखि एनपिएलको दोस्रो संस्करण

1
1.2K Shares

नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका छन् । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।

एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।

स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठुला घरानाले लगानी गरेको एनपिएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् । पहिलो संस्करणमा एक सय करोड भ्यालु बनाएको क्यान दोस्रो संस्करण अझै ब्रान्ड बढाउने योजनामा छ । यो प्रतियोगितामा नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म कमाउनेछन् । सहभागी सबै टोलीले आफ्ना १६ खेलाडीसहित अफिसियललाई पाँचतारे होटेलको सुविधा दिएर राखेका छन् । प्रतियोगिताले नेपालमा पर्यटन प्रवद्र्धन हुने र अर्थतन्त्र सुधार्न टेको बन्ने अपेक्षा गरिएको छ ।

क्यान सचिव पारस खड्काले एनपिएल राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको बताए । ‘क्रिकेटको माध्यमबाट हामीले राम्रो म्यासेज दिएका छौँ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ,’ उनले भने, ‘अब एनपिएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । एनपिएलमा स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् ।’

पहिलो संस्करण भव्य रूपमा आयोजना गरेको क्यानले पुरस्कार राशि भने निकै कम राखेको थियो । दोस्रो संस्करणमा पनि पुरस्कारमा सुधार गरेको छैन । विजेता टिमले पहिलो संस्करणकै बराबर एक करोड १० लाख पाउनेछ । त्यस्तै, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पाउनेछन् । यसप्रति क्रिकेट समर्थक र टिम मालिकहरूले नै असन्तुष्टि जनाएका छन् ।

एनपिएलमा यसपटक ४२ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । सहभागी टिमले न्यूनतम ४ देखि अधिकतम ६ विदेशी खेलाडी राख्न पाउँछन् । सबै टिमले ६ खेलाडी अनुबन्ध गरे भने यो संख्या ४८ पुग्नेछ । हालसम्म काठमाडौं, विराटनगर र कर्णालीले ६–६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् । पोखरा, जनकपुर, चितवन र लुम्बिनीले ५–५ जना अनुबन्ध गर्दा सुदूरपश्चिमले चार विदेशी खेलाडी राखेको छ ।

विश्वकप जितिसकेकादेखि चर्चित लिग खेलाडी यसपालि त्रिवि क्रिकेट रंगशालामा उत्रिँदै छन् । अझ आइसिसीको नियमअनुसार सहभागी टिमले टेस्ट खेलिरहेका खेलाडी अनुबन्ध गर्न पाएका छैनन् । पहिलो नेपाल टी–२० फिक्सिङ र बेटिङको निसानामा परेपछि नेपाली क्रिकेट नै बदनाम हुन पुगेको थियो । त्यसपछि आइसिसीले अहिले टेस्ट खेलिरहेका चार खेलाडी मात्रै अनुबन्ध गर्न पाउने नियम बनाएको थियो । जसअनुसार गोलाप्रथाबाट चार टिमले यो अवसर पाए । कर्णाली याक्सले अफगानिस्तानका पूर्वकप्तान जाजिव जाद्रन, लुम्बिनीले अफगानिस्तानकै गुल्वादिन नाइव, सुदूरपश्चिमले स्कट कुगुलेइन र पोखराले न्युजिल्यान्डका जिमी निसमलाई अनुबन्ध गरेका हुन् ।

हालसम्म इंग्ल्यान्ड, अस्ट्रेलिया, अमेरिका, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, भारत, अफगानिस्तान, पाकिस्तान, वेस्ट इन्डिज, युगान्डा, इटाली, नामिबिया, श्रीलंका, नेदरल्यान्ड, स्कटल्यान्ड गरी १५ देशका ४२ खेलाडी अनुबन्ध भइसकेका छन् । अब, पाँच टिममा ६ खेलाडी अनुबन्ध हुन बाँकी रहेका छन् । ‘हामीसँग धेरै देशका चर्चित खेलाडी अनुबन्ध हुनुभएको छ । नेपाली समर्थकले चर्चित अनुहार अगाडि नै देख्न पाएका छन् । उनीहरूको आगमनले पर्यटन प्रवद्र्धनमा टेवा पनि मिलेको छ,’ क्यान सचिव खड्काले भने । हालसम्म सबैभन्दा धेरै खेलाडी इंग्ल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट एनपिएलमा जोडिएका छन् ।

पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन ल्याउँदा निकै चर्चा भएको थियो । यसपटक विराटनगरले दक्षिण अफ्रिकी पूर्वकप्तान फाफ डु प्लेसिसलाई आबद्ध गरेको छ । उनी नै प्रतियोगिताको ठुलो नाम हुन् । दक्षिण अफ्रिकाकै मर्चेन्ट डी लिग्ने पनि विराटनगरमा छन् । दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेललाई जनकपुरले अनुबन्ध गरेको छ । अस्ट्रेलियाको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका क्रिस लिन, डार्सी सर्ट, जोस ब्राउन, साम हिजलेट र विलियम बासिस्टोजस्ता खेलाडी प्रतियोगितामा देखिनेछन् । इंग्ल्यान्डबाट विश्वकप जितिसकेको डाविड मलान, जासन रोयदेखि रवि बोपारासमेत एनपिएल खेल्दै छन् ।

1

Scroll to Top