Banijya News

जेनजी आन्दोलनबाट कुल ७८ अर्बको क्षति, निजी क्षेत्रमा मात्रै ३६ अर्ब

1
1.2K Shares

जेनजी आन्दोलनका कारण मुलुकभर कुल ७८ अर्ब रूपैयाँको क्षति भएको निष्कर्ष सरकारी अध्ययन समितिले निकालेको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा बनाएको ५ सदस्यिय समितले क्षतिको मूल्यांकन अन्तिम चरणमा पुर्‍याएको हो ।

समितिले तयार पार्दै गरेको लस एन्ड ड्यामेज एसेसमेन्ट रिपोर्टको प्रारम्भिक नतीजाअनुसार निजी क्षेत्रमा ३६ अर्ब गरी कुल ७८ अर्बको क्षति भएको छ । यो क्षति सरकारले अनुमान गरेको भन्दा निकै कम हो ।

समितिका अनुसार जेनजी आन्दोलनले ७७ मध्ये ५१ जिल्लामा असर परेको छ । ती जिल्लामा १६ सय इकाइका २९ सय भवनमा क्षति पुगेको छ । क्षति भएका संरचनामा संघ, प्रदेश र स्थानीय सरकारका कार्यालयदेखि लिएर निजी आवास, उद्योग, गोदाम र व्यावसायिक भवनसमेत छन् ।

जसमध्ये संगठित निजी क्षेत्रका व्यवसायहरूले २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी गरेका छन् । बीमा दाबी उद्योग, होटल, सवारीसाधन, व्यवसायिक संरचना तथा गोदाममा भएको क्षतिसँग सम्बन्धित छन् ।

यसैगर बीमा नभएका तथा असंगठित वा अनौपचारिक क्षेत्रका व्यवसाय तथा संरचनाहरूमा ८ देखि १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यी क्षेत्रमा बीमा कभरेज नहुँदा पुनर्निर्माणमा सरकारी सहयोग तथा सहुलियत योजनाको आवश्यकता देखिएको छ ।

अर्मन्त्री रामेश्वर खनालले क्षतिको परिमाण अपेक्षाभन्दा कम रहेको बताए । प्रारम्भिक विवरणले देशभर ७८ अर्ब रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।

अर्थमन्त्री खनालले अर्थ मन्त्रालयले सम्भावित क्षतिको अनुमान गरेर सुरुदेखि नै स्रोत व्यवस्थापनको तयारी गरेको समेत बताए ।

उनले क्षति धेरै देखिएको भए पनि सरकारी समितिले बनाएको प्रतिवेदनले सरकारसँग उपलब्ध वित्तीय स्पेस, बीमा दाबीको रकम र सरकारी योजनाको संयोजनमार्फत पुनर्निर्माणको खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिने पनि बताए ।

सरकारले निजी क्षेत्रमा ३६ अर्बको भौतिक क्षति भएको तथ्य फेला पारे पनि निजी क्षेत्रले ४८ अर्बको भएको दाबी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ४८ अर्बको भौतिक क्षति र कुल ८८ अर्बको आर्थिक क्षति परेको बताएका छन् ।

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिलाई क्षतिको मूल्यांकन र पुनःनिर्माण योजना तयार गर्ने गरी कार्यादेश दिइएको थियो ।

जेनजी प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्यांकन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका थिए । तथ्यांक संकलनमा एकरुपता तथा सहजताका लागि आयोगले क्षति मूल्यांकन सर्वेक्षण पोर्टलसमेत सञ्चालन गरेको थियो भने सम्बन्धित स्थानीय तह तथा प्रदेश र संघका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

साढे २ सयभन्दा बढी पालिका, सबै प्रदेश र संघीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई युजरनेम र पासवर्ड उपलब्ध गराएर तथ्यांक संकलन गरिएको हो । ती निकायले कात्तिक मसान्तसम्म विवरण प्रविष्ट गरेका हुन् जसका आधारमा समितिले अर्थमन्त्री खनाललाई प्रारम्भिक विवरण उपलब्ध गराएको थियो ।

यस्तै योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिवको प्रतिनिधित्व रहेनगरी सहजीकरण उपसमिति समेत गठन गरिएको थियो ।

1

Scroll to Top