Banijya News

पठाओ राइडर बन्न अब परीक्षा दिएर ल्याउनु पर्ने छ ८० प्रतिशत अंक

1
1.2K Shares

राइड सेयरिङ सेवाप्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ।

कम्पनीका अनुसार सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आइएको थियो । पठाओ नेपालको सेवा देशभर फैलिँदै गएसँगै काठमाडौं बाहिरका चालकहरूलाई लक्षित गर्दै यो प्रक्रिया क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो।

पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ। त्यसपछि एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ। सो प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनु पर्नेछ। असफल भएकाहरू भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सक्नेछन्।

यसले राइडर बन्ने प्रक्रियालाई अझ पारदर्शी र सजिलो बनाउँदै यात्रालाई पूर्ण रूपमा डिजिटल बनाउने कम्पनीको भनाइ छ । पठाओ ड्राइभ एपमा खाता खोली आवश्यक कागजात अपलोड गरिसकेपछि पठाओको कार्यालयले ती कागजातहरूको जाँच गर्नेछ र सबै कागजात सही भएमा २४ घण्टाभित्र खाता प्रमाणीकरण हुनेछ । त्यसपछि पठाओ ड्राइभ एप मार्फत नै अनलाइन प्रशिक्षण लिन सकिनेछ ।

प्रशिक्षण पूरा भइसकेपछि परीक्षामा सामेल हुन पाइनेछ, जुन पठाओ एपबाट नै दिन सकिन्छ । परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएस मार्फत सम्झौतापत्र पठाइने र सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिने कम्पनीले बताएको छ ।

1

Scroll to Top