भारतले नेपाललाई १० ओटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल नियमित सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० ओटा बेलीब्रिज दिएको हो । भारतले गत वर्ष १० ओटा बेलीब्रिज नेपाललाई दिएको थियो । नेपालको अनुरोधमा भारतले बेलीब्रिज अनुदानमा उपलब्ध गराएको हो ।
भारतले उपलब्ध गराउने १० ओटामध्ये एउटा बेलीब्रिज आज (बिहीवार) नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी ९ ओटा बेलीब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज हेटौँडामा ऊर्जा‚ जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरेका छन् ।
भारतले उपलब्ध गराएका बेलीब्रिज ७० मीटर लम्बाइका रहेका छन् । पुलको चौडाइ सिंगल लेन ४.२५ मीटर रहेको छ । पुलको भारवहन क्षमता ३८ मेट्रिक टन रहेको छ ।
पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनर्स्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए । सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवद्धिलगायत क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्वीपक्षीय साझेदारी अझै दह्रिलो देखिएको बताए । उनले नेपाललाई भारतले गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैँ तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएका बेलीब्रिज केही लामा रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न सहज हुने उल्लेख गर्दै उनले पुल जडानका लागि प्राविधिक टोली पनि छिट्टै आउने जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति गरेका सडक सञ्चालनका लागि भारतबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।


