Banijya News

लगानी बोर्डमा एक वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व शून्य

1
1.1K Shares

मुलुकमा ठूलो लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित लगानी बोर्डमा झण्डै एक वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व शून्य छ ।

लगानी बोर्डमा निजी क्षेत्रका तीन सदस्यको कार्यकाल सकिएको एक वर्षसम्म पनि सरकारले नयाँ सदस्य मनोनयन नगर्दा बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व शून्यु भएको हो।

लगानी बोर्डमा रहेका नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको कार्यकाल अघिल्लो फागुनमै सकिएको थियो । उनीहरूको बहिर्गमनपछि तत्कालीन प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीले नयाँ सदस्य मनोनयनमा कुनै चासो नदेखाएपछि बोर्ड निजी क्षेत्रविहीन बनेको हो ।

जेनजी आन्दोलनपछि बनेको सरकारले बुधबार पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बोर्ड बैठक बसाए पनि सरकारले नयाँ सदस्य मनोनयन नगरिदिँदा कुनै पनि निजी क्षेत्रका प्रतिनिधि सहभागी हुन पाएनन् ।

लगानी बोर्ड ऐन २०६८ ले निजी क्षेत्रका प्रतिनिधि तथा स्वतन्त्र विज्ञसमेत चार सदस्य मनोनयन गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ । उद्योग, पर्यटन, पूर्वाधार, वाणिज्य कानुन वा वित्तीय क्षेत्रका विशेषज्ञमध्ये एकजना महिला अनिवार्य गरी सदस्य राख्ने प्रावधान पनि प्रष्ट छ । तर ऐनअनुसारका दायित्व पूरा नहुँदा बोर्ड हाल प्रधानमन्त्री, अर्थमन्त्री, सम्बन्धित मन्त्रीहरू, राष्ट्र बैंकका गभर्नर तथा मुख्य सचिवका निर्णयमै सिमित बनेको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री ओलीले एमाले निकट व्यवसायी बालकृष्ण शिवाकोटीलाई बोर्ड सदस्य नियुक्त गर्दा पनि राजनीतिक भागबण्डाको आलोचना उठेको थियो । शिवाकोटी २०७९ को संसदीय निर्वाचनमा उम्मेदवारी दिन बोर्डबाट राजीनामा दिएका थिए ।

ऐनले मनोनीत सदस्यको नियुक्ति तथा पदमुक्तिसम्बन्धी अधिकार प्रधानमन्त्रीलाई दिएकाले मनोनयन प्रक्रियामा राजनीतिक प्राथमिकता हावी हुने आलोचना पनि फेरि सतहमा आएको छ । मनोनयन नभएका कारण अहिले बोर्डमा तत्काल निर्णय आवश्यक ठूला परियोजनामा समेत निजी क्षेत्रको दृष्टिकोण समावेश हुन नसकेको बताइन्छ ।

1

Scroll to Top