Banijya News

ठुला बचतकर्ताको अवरोध पछि एक लाखसम्मको बचत फिर्ता गर्ने योजना स्थगीत

1
1.1K Shares

सहकारीमा एक लाख रुपैयाँसम्म बचत डुबाएका बचतकर्तालाई रकम फिर्ता गर्ने सरकारको योजना बचतकर्ताकै अवरोधपछि स्थगित भएको छ । एक लाख रुपैयाँभन्दा धेरै बचत डुबाएका पीडितहरूले अवरोध गरेपछि सरकारको योजना बिचमै स्थगित भएको हो ।

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीको एक लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको थियो । यसका लागि प्राधिकरणले सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको समन्वयमा पीडितको तथ्यांक संकलन गरेको थियो । सोही आधरमा अर्थ मन्त्रालयले पछि शोधभर्ना हुने सर्तमा एक अर्ब ८३ करोड रुपैयाँ ‘सिडमनी’का रूपमा प्राधिकरणको कोषमा हालिदिने भनेको थियो ।

तर, एक लाख रुपैयाँभन्दा धेरै बचत डुबाएका पीडितले विरोध गरेपछि सम्पूर्ण प्रक्रिया स्थगित गरिएको छ । प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले एक लाख रुपैयाँसम्म बचत डुबाएका बचतकर्तालाई रकम फिर्ता गर्ने सरकारको तयारी हालका लागि स्थगित भएको बताए ।

प्राधिकरणका अनुसार संघमा समस्याग्रस्त घोषणा भएका सहकारीका मात्रै एक लाख रुपैयाँसम्मका ३४ हजार बचतकर्ता छन् । उनीहरूको मात्रै रकम फिर्ता गर्न सकिए समस्याग्रस्त घोषणा भएका ५४.१७ प्रतिशत बचतकर्ताको समस्या समाधान हुने थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समस्याग्रस्त घोषणा भएका २३ सहकारीमा पीडित बचतकर्ता मात्रै ६२ हजार ७६० (यमुना आइडल सहकारी थपिएपछि) पुगेको छ । उनीहरूको सहकारीले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बचत रकम डुबाएको छ ।

प्राधिकरणका अनुसार सहकारी तथा वित्तीय समस्या समाधान राष्ट्रिय अभियान महासंघको विरोधपछि रकम फिर्ता गर्ने योजना स्थगित हुन पुगेको हो । एक लाखसम्मका बचतकर्तालाई मात्रै बचत फिर्ता गरे आन्दोलन गर्ने भनेपछि योजना रोकिन पुगेको नियमन प्राधिकरणका अध्यक्ष डा. शर्माले बताए ।

सरकारले १४ पुस ०८१ मा जारी गरेको अध्यादेशमा प्राधिकरण गठनपछि सहकारीपीडितको बचत रकम फिर्ता हुने भनेको थियो । त्यसलगत्तै ७ माघ ०८१ को मन्त्रिपरिषद् बैठकले सहकारी नियमन प्राधिकरण गठन गरेको थियो । १५ माघमा ललितपुरको पुलचोकस्थित साबिकको राष्ट्रिय सहकारी विकास बोर्डमा प्राधिकरणको कार्यालय स्थापना गरियो । प्राधिकरणको पहिलो जिम्मेवारी सहकारीका बचतकर्ताको डुबेको रकम फिर्ता गर्नु थियो । तर, हालसम्म पनि प्राधिकरणले कुनै पीडितको रकम फिर्ता गर्न सकेको छैन ।

1

Scroll to Top