सरकारले जेन—जी प्रदर्शनका क्रममा देशभर ठूलो संख्यामा सरकारी सवारीसाधनमा आगजनी भएपछि सवारीसाधनलाई कबाडमा बेच्ने गरेको छ। प्रदर्शनकारीको निशानामा परेका सवारीसाधनहरूमध्ये धेरैजसो पूर्ण रूपमा ध्वस्त भएका कारण मर्मत गरी प्रयोग गर्ने अवस्था नरहेका कारण कवाडमा बेच्न लागीएको हो ।
प्राप्त विवरण अनुसार काठमाडौंमा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा क्षति पुगेको छ। सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा ४ सय ४१ वटा चारपांग्रे र ६ सय १ भन्दा बढी दुईपांग्रे सवारीसाधन जलेर ध्वस्त भएका छन्। यसबाहेक प्रहरीका विभिन्न कार्यालय र युनिटहरूमा समेत ठूलो मात्रामा सवारीसाधन जलेका छन्। यद्यपि, विभिन्न जिल्ला र प्रदेश कार्यालयहरूमा भएको सवारीसाधन क्षतिको पूर्ण र अन्तिम विवरण भने आउन बाँकी छ।
राष्ट्रिय योजना आयोगका सूचना अधिकारी दिवाकर लुइँटेलका अनुसार देशभरका सरकारी सवारीसाधनमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। आयोगले यसका लागि एक समिति नै गठन गरेर काम गरिरहेको छ। विभिन्न जिल्लाबाट भौतिक क्षति र सवारी क्षतिसम्बन्धी विवरणहरू आइरहेको आयोगले जानकारी दिएको छ। जेन—जी आन्दोलनका क्रममा निजी, सरकारी र संस्थानका गरी हजारौंको संख्यामा सवारीसाधनमा क्षति पुगेको थियो।
आन्दोलनपछि नेपाल बिमा प्राधिकरणमा २ हजार २ सय ९० वटा मोटरको बिमा दाबी गरिएको छ। जलेका वा तोडफोड भएका सवारीसाधनमध्ये बिमा गरिएका सवारीको हकमा बिमा दाबी र क्षतिपूर्ति प्राप्त हुनेछ। तर, बिमा नगरिएका सवारीसाधनको हकमा भने सम्बन्धित व्यक्ति वा संस्थाले नै क्षति व्यहोर्नुपर्ने अवस्था रहेको छ।
पूर्ण रूपमा जलेर काम नलाग्ने भएका सरकारी सवारीसाधनलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रक्रियाबमोजिम लिलामी वा नष्ट गर्ने तयारी अघि बढेको छ।


