स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २९ गते ३९औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले प्रस्तावित लाभांशलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँको आधारमा कम्पनीले करसमेत १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उल्लेखित प्रस्तावसँगै सञ्चालकको भत्ता तथा सुविधामा वृद्धि गर्न कम्पनीको नियमावली संशोधनका लागि स्वीकृति प्रदान गर्ने काम पनि सभाले गर्नेछ । यसका लागि सभाले आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


