Banijya News

नयाँ क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउने सेबोनको तयारी

1
1.1K Shares

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ क्षेत्रका कम्पनीहरुलाई समेत पूँजीबजारमा भित्र्याउने तयारी थालेको छ । हालसम्म विभिन्न कारणले पूँजीबजारमा समेटिन नसकेका क्षेत्रहरुलाई समेत आईपीओ निश्कासन गर्न दिने विषयलाई अगाडि बढाउँदै सेबोनको सञ्चालक समितिको बैठकले पूर्व तयारी सुरु गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो ।

नयाँ क्षेत्रका कम्पनीहरु जस्तै: हस्पिटल, मेडिकल कलेज, हायर पर्चेज कम्पनी, रेमिटान्स, सूचना प्रविधि, सर्भिस प्रोभाइडर, इञ्जिनियरिङ, कृषि लगायतका क्षेत्रहरुलाई समेत बजारमा भित्र्याउने तयारी थालिएको स्रोतको भनाई छ ।

‘नयाँ क्षेत्रका कम्पनीहरू जस्तै अस्पताल, मेडिकल कलेज, हायर पर्चेज, रेमिट्यान्स, सूचना प्रविधि, सेवा प्रदायक, इन्जिनियरिङ, कृषि लगायतका क्षेत्रहरूबाट समेत प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमतिका लागि बोर्डमा आवेदन प्राप्त भइरहेको सन्दर्भमा, त्यस्ता क्षेत्रका कम्पनीहरूलाई प्राथमिक सार्वजनिक निष्कासनको अनुमति प्रदान गर्दा उक्त क्षेत्रको प्राथमिक सार्वजनिक निष्कासनका सम्बन्धमा विवरणपत्रमा समावेश गर्नुपर्ने सूचना, जानकारी लगायतका विषय परिमार्जनका लागि व्यवस्थापनबाट आवश्यक कार्य गर्ने ।’ सेबोनको बोर्ड बैठकको निर्णय उद्धृत गर्दै स्रोतले भनेको छ ।

हाल यी कम्पनीहरुलाई पूँजीबजारमा प्रवेशका लागि आईपीओ निश्कासन गर्न रोक थिएन । तर, नीतिगत अस्पष्टताका कारण यी क्षेत्रहरुले आवेदन दिए पनि बोर्डले आईपीओ निश्कासनका लागि स्वीकृति दिन सकिरहेको थिएन । सेबोनको बोर्ड बैठकले यही अस्पष्टताको अन्त्य गर्दै विभिन्न क्षेत्रका कम्पनीहरुले पनि आईपीओ निश्कासन गर्नसक्ने बाटो खोलिदिएको हो ।

अब बोर्डको निर्देशनपछि ८-१० दिनमा विभिन्न कम्पनीहरुले प्राथमिक सार्वजनिक निश्कासन गर्दा विवरण पत्रमा समावेश गर्नुपर्ने सूचना, जानकारी लगायतका विषय परिमार्जनको प्रस्ताव व्यवस्थापनले पेश गर्नेछ । त्यसपछि माथि उल्लेख गरिएका विभिन्न क्षेत्रका कम्पनीहरुको आईपीओलाई समेत धमाधम स्वीकृति दिन थालिने स्रोतको भनाई छ ।

यसैबीच, धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिएका अन्य क्षेत्रका कम्पनीहरुको फाइल अध्ययन गर्ने क्रमलाई पनि तीव्र पारिएको स्रोतको भनाई छ । मापदण्ड पुगेका र वित्तीय स्वास्थ्यमा समस्या नभएका कम्पनीहरुलाई क्रमशः आईपीओ निश्कासन दिंदै जाने तयारीमा बोर्ड रहेको बुझिएको छ ।

1

Scroll to Top