नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ विशेषतासहितको १०० रुपैयाँ दरको बैंक नोट चलनचल्तीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनाअनुसार यो नोटमा पुरानै आकार र रङ कायम गरिए पनि सुरक्षा तथा डिजाइनका नयाँ विशेषता थपिएका छन्।
नयाँ नोटमा पहिलोपटक ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० (एक सय) तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश समावेश गरिएको छ।
नोटको अगाडिपट्टि बायाँतर्फ सगरमाथाको पानी छाप, दायाँतर्फ लालीगुराँसको पानी छाप र मध्य भागमा नेपालको नयाँ नक्सासहित अशोक स्तम्भको चित्र रहेको छ। दृष्टिविहीनहरूले छामेर सजिलै पहिचान गर्न सकून् भनेर अशोक स्तम्भ नजिकै कालो थोप्लो (raised dot) राखिएको छ।
त्यस्तै, नोटको बायाँ भागमा अण्डाकार आकारभित्र चाँदी रङको मेटालिकमा मायादेवी मन्दिर, लुम्बिनीको चित्र छापिएको छ। सुरक्षाका लागि २ मिलिमिटर चौडाइको विशेष धागो राखिएको छ जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ भने तल्लो भागमा नेपालीमा ‘वि.सं. २०८१’ सिरियल नम्बर उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यी नयाँ नोटहरू आजैदेखि बैंकिङ प्रणालीमार्फत वितरण सुरु भएको छ र बिस्तारै पुराना नोटको सट्टामा चलनचल्तीमा आउनेछन्। पुराना १०० रुपैयाँका नोटहरू भने यथावत् कानुनी मान्यतामा रहने बैंकले जनाएको छ।


