Banijya News

२७ प्रतिशतले बढ्यो सिमेन्टको निर्यात

1
1.1K Shares

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा सिमेन्टको निर्यात झन्डै २७ प्रतिशतले बढेको छ । नेपालबाट साउनदेखि कात्तिक मसान्तसम्ममा झन्डै एक अर्ब रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २६.८४ प्रतिशत अर्थात् साढे ३१ करोड रुपैयाँले बढी हो ।

भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्ममा २० करोड ७४ लाखको क्लिंकर र ७७ करोड ३३ लाखको सिमेन्ट निर्यात भएको हो । अघिल्लो वर्षको चार महिनामा भने ६६ करोड ५८ लाख रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । उच्च मूल्य अभिवृद्धि हुने सिमेन्टको निर्यात अर्थतन्त्रकै लागि महत्वपूर्ण मानिने व्यापारीविद् बताउँछन् । नेपालको कुल निर्यात व्यापारमा सिमेन्ट र क्लिंकरको हिस्सा एक प्रतिशतबराबर रहेको छ ।

हाल नेपालमा सिमेन्ट र क्लिंकर उत्पादन गर्ने उद्योग १६ वटा र सिमेन्ट उत्पादन गर्ने उद्योग ४४ वटा रहेको नेपाल सिमेन्ट उद्योग संघले जनाएको छ । यसमध्ये अर्घाखाँची, पाल्पालगायत केही उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन् ।

भन्सार विभागको तथ्यांकले चालू आवको चार महिनामा क्लिंकर तथा सिमेन्टको आयात उच्चदरमा बढेको देखाउँछ । यस अवधिमा ४२ करोड ४० लाखको क्लिंकर र आठ करोड २० लाखको सिमेन्ट गरी कुल ५० करोड ६० लाखको आयात भएको देखिन्छ । जबकि, गत आवको सोही अवधिमा सात करोड ४६ लाखको मात्रै क्लिंकर तथा सिमेन्ट आयात भएको विभागको तथ्यांक छ ।

1

Scroll to Top