Banijya News

सार्वजनिक यातायातको अव्यवस्था सुधार्न सर्वोच्चद्धारा परमादेश जारी

1
1.2K Shares

सर्वोच्च अदालतले सार्वजनिक यातायातको अव्यवस्था र बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि यातायातसम्बन्धी रिटमा परमादेश आदेश जारी गरेको छ । २०८१ भदौ ५ गते दायर भएको रिटमाथि २०८२ मङ्सिर ३ गते सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निवेदकको माग बमोजिम परमादेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल लगायतले दायर गरेको उक्त रिटमा यसअघि २०८१ भदौ २५ गते सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । रिटमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरीत सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने अभ्यास तत्काल रोक्न, प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनीय, सरल र सुलभ यातायात सेवा उपलब्ध गराउन माग गरिएको थियो ।

सार्वजनिक यातायातको अव्यवस्थाका कारण सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै निवेदकहरूले त्यसलाई न्यूनीकरण गर्न कडा नियमन आवश्यक रहेको जिकिर गरेका थिए । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल, अधिवक्ताहरू टंकप्रसाद भट्टराई, भुवनप्रसाद वाग्ले र आशिष लुइँटेलले बहस गर्दै सम्बन्धित निकायहरूले ऐन कार्यान्वयनमा लापरबाही गरेको दाबी गरेका थिए ।

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका गरी यातायात सञ्चालन तथा नियमनसँग सम्बन्धित १० निकायलाई विपक्षी बनाइएको थियो ।

सर्वोच्च अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमताभन्दा बढी यात्रु सार्वजनिक सवारीसाधनमा नचढाउन, यात्रुको इच्छाविपरीत सवारीसाधनभित्र ठूलो स्वरमा संगीत नबजाउन आदेश दिएको छ । त्यस्तै, उच्च वाहन शक्ति भएका मोटरसाइकल चालकले सडक प्रयोगकर्ता र समाजलाई आतंकित हुनेगरी तीव्र गति र ठूलो आवाजमा सवारी नचलाउन तथा १८ वर्ष पूरा नभएका नाबालकलाई सहचालकको रूपमा काममा नलगाउन पनि स्पष्ट निर्देशन दिइएको छ । सर्वोच्चको यस आदेशले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायमाथि जिम्मेवारी बढाएको छ ।

1

Scroll to Top