सहकारी संघसंस्थालाई व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारी विभागले निर्देशन जारी गरेको छ । संस्थाको कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने प्रवृत्ति बढेको आधारमा विभागले उक्त निर्देशन जारी गरेको हो । आयकर ऐन २०५८ र सम्पत्ति शुद्धीकरणसम्बन्धी यसअघिको निर्देशनका आधारमा निर्देशन जारी गरिएको विभागले जनाएको छ ।
सहकारीका कुनै सदस्यले व्यावसायिक कारोबारबापत प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइए त्यस्तो कारोबार वित्तीय जानकारी इकाइमा पठाउन पनि विभागले भनेको छ ।
मुख्यगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली र आयकर ऐनमा भएको व्यवस्था कार्यान्वयनका लागि सहकारी संघसंस्थालाई व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिस्ट्रार उमेश ढुंगानाले बताए ।
आयकर ऐन, २०५८ को दफा ८१ क मा व्यावसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था छ । ऐनमा कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेको छ । तर सहकारी संस्थाले ऐनको व्यवस्था पालना नगरेको पाइएपछि विभागले नयाँ निर्देशन जारी गरेको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम १० मा व्यावसायिक कारोबार तथा खातासम्बन्धी व्यवस्था छ । कानुनी व्यक्ति वा कानुनी प्रबन्ध व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धको खाताबाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गर्न नपाइने व्यवस्था छ । प्रचलित कानुनबमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइए सम्बन्धित वित्तीय संस्थाले त्यसको जानकारी वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागलाई दिनुपर्ने व्यवस्था निर्देशनमा छ । सोही निर्देशनका आधारमा विभागले उक्त निर्देशन जारी गरेको हो ।
‘आयकर ऐन, २०५८ को दफा ८१ ‘क’ मा व्यावसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था छ । जसमा कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ निर्देशनमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ ले सहकारी संस्थाहरूलाई पनि वित्तीय संस्थाका रूपमा परिभाषित गरेअनुरूप सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१ ‘क’ को व्यवस्थाबमोजिम व्यावसायिक कारोवार व्यक्तिगत खाताबाट नगर्नू/नगराउनू भन्ने छ । सदस्यले त्यस्तो कारोबार गरेको पाइए वित्तीय जानकारी इकाइमा प्रतिवेदन गर्नुपर्ने विभागको निर्देशन छ ।


