चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा मार्फत २४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो । गत आर्थिक वर्ष पहिलो चार महिनामा घर कर्जा शीर्षकमा १० अर्ब २१ करोड ८० लाख रुपैयाँ प्रवाह भएको थियो ।
चालु आर्थिक वर्ष चार महिनामा समग्र कर्जा ०.१२ प्रतिशत अर्थात ५१ अर्ब ५१ करोड रुपैयाँले बढ्दा घर कर्जा मात्रै २४ अर्ब ५२ करोड प्रवाह भएको हो । २०८२ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये ७.८४ प्रतिशत अर्थात ४ खर्ब ४२ अर्ब रुपैयाँ घर कर्जा हो ।
५/६ प्रतिशत ब्याजदरको स्किमले कर्जा बढाउन सहयोग गरेको छ। न्यून ब्याजदरको स्किमसँगै राष्ट्र बैंकको नीतिले घर कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्। अहिले कर्जाको औसत ब्याजदर ७.३९ प्रतिशत छ । आधार दर (बेसरेट) साढे ५ प्रतिशतभन्दा तल झरेको छ भने बैंकहरूसँग लगानीयोग्य रकम ११ खर्बभन्दा धेरै छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय आवासीय घर कर्जामा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका कारण बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।
‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण हामीलाई व्यवसाय बढाउन सहयोग पुगेको हो। यसमा सस्तो ब्याजदरले पनि ठूलो काम गरेको छ,’ उनले भने ।
नेपाल बैंकले अहिले ५.७२ प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ । यो ब्याजदर स्थिर होइन, परिवर्तित हो । बैंकको बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ । पछिल्लो तीन महिनाको औसत बेसरेट ५.२२ प्रतिशत छ। बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन्छन्। घरजग्गाका साथै निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको राष्ट्र बैंक आगामी दिनमा अझै लचिलो हुने तयारीमा छ ।
राष्ट्र बैंकको नीति अनुसार, अहिले घरजग्गा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइन्छ। साथै, पहिलोपटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो यो वर्षको मौद्रिक नीतिबाट ७० बाट ८० प्रतिशत पुगेको छ । अन्य क्षेत्रमा ऋणको माग निक्कै सुस्त रहेका कारण बैंकहरुले घरजग्गा क्षेत्रलाई प्रोत्साहित गर्दै आएका छन्। आवासीय घर कर्जामा जोखिम पनि कम हुन्छ ।
अहिले वाणिज्य बैंकहरुले ७/८ प्रतिशत स्थिर र ५/६ प्रतिशत परिवर्तित व्याजदरमा घर कर्जा दिइरहेका छन् । कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतभन्दा कम ब्याजदरमा दिइरहेका छन्।
एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ । परिवर्तितको हकमा भने बैंकको घर कर्जाको ब्याजदर ६.४० प्रतिशत छ ।
नबिल बैंकले ६.३३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, एनएमबि बैंकले ६.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.३३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेका छन्। राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल बैंकको लचिलो नीति र आफूहरुको स्किमका कारण घर कर्जा बढेको बताउँछन् ।
घर कर्जा सबैभन्दा धेरै प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक छ। यो बैंकले ४४ अर्ब ८ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेको छ । सबैभन्दा कम लगानी गर्नेमा नेपाल एसबिआई बैंक छ। यसले जम्मा २ अर्ब ७० करोड रुपैयाँ मात्र घर कर्जा प्रवाह गरेको छ ।


