विदेशमा शाखा विस्तार र लगानीका लागि हालसम्म तीन कम्पनीले नेपाल राष्ट्र बैंकबाट पूँजी लैजान स्वीकृति पाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म तीनवटा कम्पनीले कुल २५ लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही स्वीकृति प्राप्त गरिसकेका छन् । केन्द्रीय बैंकले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्दै विदेशमा शाखा खोल्न तथा इक्विटी लगानी गर्न सहज बनाएको हो । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार थप करिब आधा दर्जन कम्पनीको आवेदनमाथि अध्ययन भइरहेको छ र प्रक्रिया पूरा भएपछि क्रमशः स्वीकृति दिइनेछ ।
सरकारले कानूनी तथा नीतिगत व्यवस्था संशोधन गरेपछि नेपाली कम्पनीहरू औपचारिक रूपमा विदेशमा लगानी विस्तारतर्फ अघि बढ्न थालेका हुन् । यसअघि स्पष्ट कानूनी आधार नहुँदा धेरै आईटी कम्पनीले अनौपचारिक माध्यमबाट विदेशमा सेवा प्रवाह गर्दै आएका थिए । ऐन संशोधन र राष्ट्र बैंकको निर्देशनपछि भने यस्तो लगानी नियमनको दायराभित्र आएको छ ।
राष्ट्र बैंकले असार पहिलो साता विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीलाई बढीमा १० लाख अमेरिकी डलरसम्म सटही सुविधा दिने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुसार कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष आईटी सेवा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गरेका कम्पनीले मात्रै यो सुविधा पाउनेछन् । कम्पनीले आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा १० लाख अमेरिकी डलर (दुईमध्ये जुन कम हुन्छ) सम्म सटही गर्न पाउने व्यवस्था छ ।
त्यसअघि सरकारले अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन र विदेशी विनिमय ऐन संशोधन गरी नेपाली कम्पनीलाई विदेशमा शाखा कार्यालय खोल्न र सीधै विदेशी कम्पनीमा शेयर लगानी गर्न बाटो खोलेको थियो । सोही नीतिगत सुधारको निरन्तरतामा राष्ट्र बैंकले सटहीसम्बन्धी निर्देशन जारी गरेको हो ।


