बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्स को सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकरण हुँदा अधिकतम ३०० रुपैयाँको ओपनिङ रेञ्ज तोकिएपछि विवाद चर्किएको छ । आईपीओ मूल्यभन्दा ५२०.८ रुपैयाँ कम सीमामा पहिलो कारोबार खुला गरिएपछि लगानीकर्ताहरूले मूल्य निर्धारण प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको एक करोड ९० लाख कित्ता सेयर सूचिकृत गर्दै पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको हो । नेप्सेको ०६८ सालको नीतिअनुसार सूचिकृत हुने कम्पनीको नेटवर्थ वा फेस भ्यालु जति छ, सोही विन्दुदेखि तीन गुणासम्मको दायरा पहिलो कारोबारका लागि तय गरिन्छ । रिलायन्स स्पिनिङको हकमा फेस भ्यालु १०० रुपैयाँका आधारमा अधिकतम ३०० रुपैयाँसम्मको सीमा कायम गरिएको हो ।
विगतमा नेप्सेले अन्य कम्पनीलाई नेटवर्थका आधारमा ओपनिङ रेन्ज तोके पनि रिलायन्स स्पिनिङलाई भने फेस भ्यालुका आधारमा यस्तो सीमा दिएको हो ।
यदि प्रि–ओपनमा तीन सयमा सेयर कारोबार नियमित बजारमा सोही विन्दुबाट कारोबार सुरु हुन्छ । नेप्सेको नीतिअनुसार एउटा कम्पनीको सेयर मूल्य दिनमा १० प्रतिशतले मात्रै थप–घट हुन सक्छ । यो नीतिअनुसार यो कम्पनीको स्पेसल प्रि–ओपनमा तीन सयमा कारोबार भएको अवस्थामा पहिलो दिन नियमित कारोबारमा १० प्रतिशतले मूल्य बढ्दा कम्पनीको सेयर मूल्य तीन सय ३० रुपैयाँसम्म पुग्न सक्छ ।
दैनिक १० प्रतिशतले मूल्य बढेको अवस्थामा ११औँ कारोबार दिनमा मात्रै कम्पनीको सेयर मूल्य सर्वसाधारणले खरिद गरेको भन्दा धेरै हुन जान्छ । दैनिक १० प्रतिशतले मूल्य बढेको अवस्थामा ११औँ कारोबार दिनमा कम्पनीको सेयर मूल्य ८५५.९३ प्रतिशत पुग्न सक्छ । यद्यपि, बजारमा कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भन्ने ग्यारेन्टी हुँदैन । सेयर मूल्य बढ्न नसकेको अवस्थामा लगानीकर्ता घाटामा जान्छन् । ८२०.८० रुपैयाँभन्दा कममा बिक्री गर्ने लगानीकर्ता स्वत: घाटामा जान्छन् ।
बुक बिल्डिङ विधिबाट जारी गरिएको रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले तोकेको कटअफ मूल्यका आधारमा सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा सेयर बिक्री गरियो । तर, यही सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकरण हुँदा भने विद्यमान नियमअनुसार अंकित मूल्य १०० रुपैयाँको तीन गुणा अर्थात् अधिकतम ३०० रुपैयाँ मात्र ओपनिङ रेञ्ज तोकियो ।
सबैभन्दा चासोको विषय के हो भने यो ३०० रुपैयाँको सीमा कम्पनीकै सहमतिमा तय भएको हो । सूचिकरण सम्झौतामै कम्पनीले अधिकतम ३०० रुपैयाँ स्वीकार गरिसकेपछि आईपीओ मूल्य ८२० रुपैयाँ ‘न्यायोचित’ ठहरिन नसक्ने लगानीकर्ताहरूको दाबी छ ।
संसददेखि अदालतसम्म पुगेको विवाद
रिलायन्सको आईपीओ प्रक्रिया सुरुदेखि नै विवादको घेरामा थियो । प्रतिनिधिसभा कायम रहँदा सार्वजनिक लेखा समिति लगायत संसदीय समितिहरूले मूल्य निर्धारणमा गडबडी भएको ठहर गर्दै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निष्कासन रोक्न निर्देशन दिएका थिए ।
यसपछि कम्पनीका प्रमुख लगानीकर्ता अदालत पुगे । उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दाले प्रक्रियालाई लम्ब्यायो । संसद विघटनपछि जननिर्वाचित निगरानी संयन्त्र निष्क्रिय बनेको अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै कम्पनीले आईपीओ निष्कासन गराएको आरोप लगानीकर्ताहरूले लगाएका छन् । संसद विघटन भएपछिको अवस्थामा यो कम्पनीको आईपीओका लागि धितोपत्र बोर्ड लगायतका निकायहरुले बनाएको वातावरण तथा हतारोले लगानीकर्ताको आरोपलाई धेरै हदसम्म यथार्थ हो भन्ने देखाउँछ ।
आईपीओपछि सूचिकरणका क्रममा रिलायन्सले नेप्सेको विद्यमान व्यवस्था नै परिवर्तन गराउने प्रयास गरेको सूचना बाहिरिएको थियो । यदि त्यो योजना सफल भएको भए, ८२० रुपैयाँभन्दा १० प्रतिशत कम मूल्यलाई ओपनिङ रेञ्ज बनाइने तयारी थियो । तर, मिडिया(बिजशाला)मार्फत यो विषय सार्वजनिक भएपछि नेप्से सञ्चालक समितिले हस्तक्षेप ग¥यो र अन्ततः ३०० रुपैयाँमै ओपनिङ रेञ्ज सीमित गरियो ।
“३०० रुपैयाँ सही मूल्य हो भने ८२० कसरी जायज ?”
लगानीकर्ताहरूको मूल तर्क यही हो । सूचिकरणमै कम्पनीले ३०० रुपैयाँलाई अधिकतम मूल्य मानेपछि ८२० रुपैयाँ ‘असुली मूल्य’ भएको प्रमाणित भएको उनीहरूको दाबी छ । त्यसैले, ८२० – ३०० = ५२० रुपैयाँ प्रतिकित्ता फिर्ता हुनुपर्ने माग बलियो रूपमा उठेको छ ।
नियामक र राज्य संयन्त्रको भूमिकामाथि प्रश्न
यो प्रकरणले सेबोन, नेप्से, कटअफ मूल्य तोक्ने संस्थागत लगानीकर्ता, अदालत र राज्य संयन्त्र सबैको भूमिकामाथि प्रश्न उठाएको छ । लगानीकर्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म उजुरी दर्ता गराइसकेका छन् । तर यसअघि रिलायन्सको आईपीओ निश्कासन प्रक्रिया तथा तोकिएको मूल्यकै विषय, धितोपत्र बोर्डका अध्यक्षमाथि यही प्रकरणमा लागेको घूसखोरी लगायतका आरोपसहित दर्ता भएका उजुरीहरुको सुनुवाई अझै भएको छैन । धितोपत्र बोर्डले लगानीकर्ताको आक्रोशलाई मत्थर पार्न गठन गरेको छानबिन समितिलाई समेत पेण्डुलम बनाइएको छ । त्यो विषयमा न गम्भीर छानबिन भयो, न त त्यसको कुनै प्रतिवेदन नै हालसम्म सार्वजनिक भयो । धितोपत्र बोर्डको भूमिका सरसर्ती हेर्दा ऊ पूँजीबजारको नियामक निकायभन्दा बढी रिलायन्सको सल्लाहकार र सहयोगीको रुपमा देखिन प्रशस्त आधार तथा घटनाक्रमहरु छन् ।
सूचिकरणमै ३०० रुपैयाँ स्वीकार गरिसकेको कम्पनीले आईपीओमा ८२० रुपैयाँ असुल्नु र त्यसलाई नियामकले स्वीकृति दिनु नैतिक, कानुनी र नीतिगत असफलताको उदाहरण भएको उनीहरूको निष्कर्ष छ ।


