सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ राजपत्रमा प्रकाशन भएसँगै नेपालमा पेट्रोलमा इथानोल मिसाउने नीति लागू हुने बाटो खुलेको हो। सरकारले पेट्रोल आयात घटाउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त आदेश जारी गरेको हो। मन्त्रिपरिषद्ले गत पुस २१ गते आदेश स्वीकृत गरेको थियो भने करिब दुई महिनापछि राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनको प्रक्रिया अघि बढेको हो।
आदेशअनुसार नेपाल आयल निगम ले उपलब्धताका आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकताअनुसार इथानोलको मिश्रण अनुपात मन्त्रिपरिषद्ले हेरफेर गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ। इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल, सडेगलेको अन्न, मर्चा (इस्ट) लगायतका सामग्री कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिनेछ। तर खाद्यान्नका रूपमा प्रयोग हुने अन्नलाई इथानोल उत्पादनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
उत्पादन हुने इथानोल वातावरणमैत्री हुनुपर्ने र उद्योगले उत्पादित इथानोल निगमलाई मात्र बिक्री गर्नुपर्ने प्रावधान पनि आदेशमा समेटिएको छ। इथानोलको गुणस्तर भने नेपाल गुणस्तर तथा नापतौल विभाग ले निर्धारण गर्नेछ। विभागले तोकेको मापदण्डअनुसारको इथानोल मात्रै निगमले खरिद गर्न पाउनेछ भने प्रत्येक ट्यांकरको गुणस्तर परीक्षण गरेर मात्र खरिद गरिने व्यवस्था गरिएको छ। इथानोलको मूल्य निर्धारणका लागि सरकारद्वारा सिफारिस समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने समितिमा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तथा नेपाल आयल निगम का प्रतिनिधि सदस्य रहनेछन्। समितिले प्राथमिक लागत, उत्पादन खर्च, प्रशासनिक खर्च र सञ्चालन खर्चका आधारमा प्रतिलिटर इथानोलको मूल्य निर्धारण गरी सरकारलाई सिफारिस गर्नेछ।
मूल्य निर्धारण प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि गरिनेछ र तोकिएको मूल्य हरेक वर्ष साउन १ गतेदेखि लागू हुनेछ। मूल्य निर्धारण नभएसम्म भने अघिल्लो वर्षकै मूल्य कायम रहने व्यवस्था गरिएको छ। निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नेछ भने उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ। सम्झौता उल्लंघन भए प्रचलित कानुनअनुसार क्षतिपूर्ति माग गर्न सकिने प्रावधान पनि आदेशमा राखिएको छ।
इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई नै दिइएको छ। अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको भएकाले ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने उल्लेख गरिएको छ। साथै सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि आवश्यक मापदण्ड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरी लागू गर्नेछ। निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट का अनुसार हालसम्म नेपालमा इथानोल उत्पादन गर्ने उद्योग स्थापना भइसकेको छैन। चिनी उद्योगबाट इथानोल उत्पादन गर्न डिस्टिलरी प्लान्ट स्थापना गर्नुपर्ने भएकाले केही उद्योगी त्यसतर्फ तयारी अवस्थामा रहेको उनले बताए।
उनका अनुसार सबैभन्दा बढी पेट्रोल कारोबार हुने अमलेखगन्ज डिपोबाट प्रारम्भिक रूपमा इथानोल मिश्रण सुरु गर्ने योजना रहेको छ। इथानोल मिश्रित पेट्रोल प्रयोग गर्दा वातावरणीय प्रदूषण करिब ४५ प्रतिशतसम्म घट्ने निगमको दाबी छ। यसैबीच सिमल तरुलबाट इथानोल उत्पादन गर्ने तयारी गरिरहेको कियान केमिकल इन्डस्ट्रिज प्रालि का अध्यक्ष वेदप्रसाद खरेल ले कच्चा पदार्थ उत्पादनका लागि १२ वटा स्थानीय तहसँग सहकार्य गरेर सिमल तरुल खेती सुरु गरिएको बताए। उद्योग स्थापनाका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढाइएको र सरकारी मूल्य निर्धारण भएपछि लगानीलाई अन्तिम रूप दिइने उनले बताए।
इथानोल के हो ?
इथानोल एक प्रकारको अल्कोहल हो, जुन उखु, मकै, गहुँ, सिमल तरुलजस्ता कृषिजन्य कच्चा पदार्थबाट उत्पादन गरिन्छ । गाउँघरमा बनाइने रक्सी जस्तै प्रक्रियाबाट उत्पादन भए पनि पेट्रोलमा प्रयोग हुने इथानोल भने अत्यधिक शुद्ध हुनुपर्छ । विज्ञहरूका अनुसार इन्जिनमा प्रयोग गर्न कम्तीमा ९७ देखि ९९ प्रतिशतसम्म शुद्धता आवश्यक पर्छ भने पेट्रोलमा मिश्रण गर्न ९९.९९ प्रतिशतसम्म शुद्ध इथानोल हुनुपर्छ । पानी मिसिएको इथानोलले गाडीको इन्जिन बिगार्न सक्ने भएकाले यसको गुणस्तर सबैभन्दा संवेदनशील पक्ष मानिन्छ ।
शुद्ध गर्न अति आवश्यक
इथानोल पेट्रोलमा मिसाएर प्रयोग गर्नुअघि त्यसको शुद्धता अत्यन्तै महत्वपूर्ण हुन्छ । यदि इथानोल शुद्ध भएन भने, विशेषगरी त्यसमा पानीको मात्रा बढी भयो भने गाडीको इन्जिनमा समस्या आउन सक्छ । इन्जिनभित्र इन्धन राम्रोसँग नजलेर गाडीको शक्ति घट्ने, माइलेज कम हुने र लामो समय प्रयोग गर्दा पार्टपुर्जामा खिया लाग्ने सम्भावना रहन्छ । त्यसैले पेट्रोलमा प्रयोग हुने इथानोल उच्च शुद्धतामा प्रशोधन गरिएको हुनुपर्छ ।
इथानोललाई इन्जिनमैत्री बनाउन थप शुद्धिकरण प्रक्रिया आवश्यक पर्छ, जसबाट पानीको अंश पूर्ण रूपमा हटाइन्छ । कम शुद्ध इथानोल प्रयोग गर्दा गाडी स्टार्ट हुन गाह्रो हुने, आवाज बढ्ने र इन्जिनको आयु घट्ने जोखिम रहन्छ । त्यसकारण इथानोल उत्पादन र प्रयोग दुवै अवस्थामा यसको शुद्धता प्रतिशत कति छ भन्ने कुरा सबैभन्दा निर्णायक पक्ष मानिन्छ ।
आयल निगमले इथानोल स्वदेशी उद्योगीबाट खरिद गरी आयातित पेट्रोलमा मिश्रण गरेर बजारमा बिक्री गर्नेछ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोलमा इथानोल मिश्रण गरेपछि पनि तोकिएको गुणस्तर मापदण्ड पूरा भएपछिमात्र बिक्री गरिनेछ । “नेपालमा पेट्रोलमा इथानोल मिश्रण गर्ने अधिकार आयल निगमलाई मात्रै छ,” उनले भने, “अन्य कसैले मिसाएर बिक्री गर्न पाउँदैन ।”


