बैंकिङ क्षेत्रमा दशकौंदेखि जग्गा–जमिन धितोमा राखेर कर्जा दिने प्रक्रिय चलि आएको छ । तर, यो परम्परागत प्रणालीलाई परिवर्तन गर्दै परियोजना र व्यक्तिगत साख (क्रेडिट स्कोर) का आधारमा कर्जा प्रवाह गर्ने दिशामा अघि बढ्ने नेपाल राष्ट्र बैंकले संकेत गरेको छ ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बृहत् आर्थिक प्रतिवेदनअनुसार नेपालको बैंकिङ प्रणाली अत्यधिक रूपमा अचल सम्पत्ति धितो राखेर गरिने कर्जा प्रवाहमा निर्भर रहेको छ । यसले गर्दा कर्जाको गुणस्तर कमजोर भएको, घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढेको, बैंकहरूको जोखिम वृद्धि भएको तथा उत्पादनमूलक क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको निष्कर्ष केन्द्रीय बैंकको रहेको छ ।
प्रतिवेदनअनुसार हाल बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँ हाराहारी अधिक तरलता छ । वाणिज्य बैंकहरूसँग मात्रै नियामकीय मापदण्ड पूरा गरी थप ६०० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने क्षमता छ । तैपनि, निजीक्षेत्रतर्फ कर्जा विस्तार सुस्त छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२ प्रतिशत पुर्याउने लक्ष्य राखे पनि वास्तविक वृद्धि करिब ६ प्रतिशतमा सीमित छ । यसमध्ये अधिकांश कर्जा घरजग्गा धितोमा जाने गरेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका कुल कर्जामध्ये ६० प्रतिशत हाराहारीमा जग्गा तथा भवन धितोमा कर्जा प्रवाह हुने गरेको छ । विकास बैंकतर्फ यस्तो कर्जा ८६ दशमलव ५ प्रतिशत र वित्त कम्पनीतर्फ ८४ दशमलव ५ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ ।
यसले गर्दा लामो समयसम्म घरजग्गाको माग बढ्दै जाँदा सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढेको उल्लेख गरेको छ । पछिल्लो समय घरजग्गा बजारमा आएको मन्दीपछि धितोको मूल्यमा दबाब परेपछि बैंकहरूको कर्जा असुली क्षमता कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार, धितोको मूल्यमा अत्यधिक निर्भर कर्जा प्रणालीले बैंकहरूको वित्तीय अवस्था, नाफा तथा नयाँ कर्जा प्रवाह गर्ने क्षमता समेत प्रभावित बनाएको छ । व्यवसायको सम्भाव्यता वा नगद प्रवाहभन्दा धितोको मूल्यलाई प्राथमिकता दिँदा कर्जा वितरणको गुणस्तर कमजोर बनेको प्रतिवेदनको निष्कर्ष छ । राष्ट्र बैंकका अनुसार, तीव्र कर्जा विस्तार, कमजोर कर्जा मूल्यांकन तथा संस्थागत सुशासनका कमजोरीले बैंकहरूको खराब कर्जा बढ्दै गएको छ ।
बैंकिङ क्षेत्रमा देखिएको यो अवस्थालाई सुधार गर्न राष्ट्र बैंकले परियोजनाको सम्भाव्यता, नगद प्रवाह, व्यावसायिक क्षमता तथा ऋणीको साखमा आधारित कर्जा प्रवाहतर्फ जाने संकेत गरेको छ । परियोजनामा आधारित कर्जामा धितोभन्दा परियोजनाको आर्थिक सम्भाव्यता, आम्दानी सृजना गर्ने क्षमता तथा सञ्चालन योजनालाई मुख्य आधार बनाइनेछ ।
त्यस्तै, साखमा आधारित कर्जामा ऋणीको विगतको कर्जा भुक्तानी इतिहास, वित्तीय अनुशासन तथा व्यक्तिगत क्रेडिट स्कोरलाई प्रमुख आधार बनाइनेछ । राष्ट्र बैंकका अनुसार, यसबाट जग्गा वा अन्य स्थिर सम्पत्ति कम भएका स्टार्टअप, सूचना–प्रविधि, सेवा तथा नवप्रवर्तनमा आधारित व्यवसायले पनि औपचारिक बैंकिङ प्रणालीबाट सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
केन्द्रीय बैंकको प्रतिवेदनले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीलाई पनि संस्थागत रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । प्रभावकारी क्रेडिट स्कोरिङ प्रणालीले बैंकहरूलाई ऋणीको भुक्तानी क्षमता वैज्ञानिक ढंगले मूल्यांकन गर्न, जोखिमअनुसार ब्याजदर निर्धारण गर्न तथा कर्जा विविधीकरण गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।


