Banijya News

चिया क्षेत्रको समस्या सम्बोधन गर्दै कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

1
1.0K Shares

नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लगाएको अवरोधका कारण चिया उद्योगहरु ठप्प भए र अर्बौंको लगानी जोखिममा पर्‍यो । नेपालमा चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवद्र्धनका लागि सरकारले विशेष अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले छोटो समयमै प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलले दुई साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको हो । प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार र निर्यातमा देखिएका नीतिगत तथा व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझाव प्राथमिकता साथ कार्यान्वयन गरिने बताइन् ।

नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिस गरेको छ ।

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २० हजार ६ सय २ हेक्टर क्षेत्रफलबाट २ करोड ६१ लाख किलो बढी तयारी चिया उत्पादन भएको थियो । उत्पादित चियामध्ये ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ५ सय ९९ टन चिया निर्यात भएकोमा ८६.७७ प्रतिशत हिस्सा भारततर्फ मात्रै छ । यसले नेपाली चियाको निर्यात भारतमा अत्यधिक निर्भर रहेको देखाउँछ ।

भारतीय चिया बोर्डले १ मे २०२६ देखि अनिवार्य गुणस्तर परीक्षण सम्बन्धी नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको थियो । प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, चर्को परीक्षण शुल्क र सीमामा हुने रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुरहरूको जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा भारतीय बजारमा सिर्जना भएको यस प्रकारको अवरोधले चिया उद्योगी तथा निर्यातकर्ताहरु मात्र नभएर समग्र नेपाली अर्थतन्त्रमा समेत प्रतिकूल असर पर्ने गर्दछ । यस वर्ष पटक–पटक भारतले चिया निर्यातमा अवरोध पुर्‍याउँदा सोको विरोधमा इलाम र झापाका चिया उद्योग तथा बगानहरु असार १ र ४ गतेदेखि बन्द भए । अन्ततः सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू असार ११ गतेदेखि पुनः सञ्चालनमा आए ।

यसरी चिया उद्योगहरु ठप्प हुँदा अर्बौं लगानी जोखिममा पर्ने गर्दछ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको जीविकोपार्जन जोडिएको छ । पटक–पटक निर्यात अवरुद्ध हुँदा उत्पादित चिया उद्योगमै थन्किन पुग्यो । इलाममा मात्रै वार्षिक ६५ लाख किलो चिया उत्पादन हुन्छ भने झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ । अहिले भारत नै चियाको प्रमुख बजार भएकाले पटक–पटक यस्ता अनेक समस्या झेल्नुपर्ने र चिया उद्योग नै संकटमा पर्ने गरेको छ । सो समस्या समाधानका लागि कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिस गरेको हो ।

यसैगरी, चिया उद्योगमा दीर्घकालीन रूपमा भारतसँगको निर्भरता घटाउन कूटनीतिक पहल गर्नुका साथै व्यापार सम्झौता पुनरावलोकन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । चियाको बजारीकरणका लागि भारतबाहेक पाकिस्तान, मध्यपूर्व, रुस तथा अन्य तेस्रो मुलुकमा बजार विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । व्यवसायीका अनुसार, अर्थोडक्स चियाका लागि युरोप, अमेरिका र जापानमा सरकारी स्तरको प्रवद्र्धन आवश्यक रहेको छ । नेपाली चियालाई विश्व बजारमा स्थापित गर्न अब कुरा मात्र हैन, काम गर्नुपर्ने बेला भएको छ । नेपालको आफ्‌नै ब्रान्डमा अन्तर्राष्ट्रिय बजार खोज्न चरणबद्ध रूपमा सरकारले पनि हातेमालो गर्न आवश्यक छ ।

1

Scroll to Top