कोइलावास भन्सारले छ महिनामा ७६ लाख राजस्व संकलन गरेको छ । उक्त भन्सारले आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको हो ।दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा रु आठ लाख ७३ हजार छ सय ३८ कम राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले छ महिनासम्म रु ८४ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । पुस मसान्तसम्म ७६ लाख २३ हजार तिन सय ६२ संकलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो ।
कार्यालयले साउनमा रु १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख ९० हजार नौ सय ७४ संकलन गरेको छ । यसैगरी भदौमा रु १४ लाख ९८ संकलन गर्ने लक्ष्य लिएकामा रु छ लाख ६८ हजार छ सय ४९ राजस्व संकलन भएको छ । असोजमा रु १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख चार हजार पाँच सय ५१ संकलन भएको छ । त्यसैगरी, कात्तिकमा रु १५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख ६३ हजार आँठ सय ३० संकलन भएको छ ।
मङ्सिर महिनामा रु १३ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख ८६ हजार दुई सय ९५ संकलन भएको छ । पुसमा रु १३ लाख ४० हजार संकलन गर्ने लक्ष्य लिएकामा रु ३३ लाख नौ हजार ६३ संकलन भएको छ । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन ।
हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ । अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन् ।


