Banijya News

नेपाल टेलिकमको नाफामा १२.९८ प्रतिशतको गिरावट

1
1.1K Shares

नेपाल टेलिकमको नाफामा उल्लेख्य संकुचन देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा १२.९८ प्रतिशतले घटेको हो । साउनदेखि पुस मसान्तसम्मको अवधिमा टेलिकमले ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६२ करोड १४ लाख १५ हजार रुपैयाँले कम हो ।

अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ४६.२७ रुपैयाँमा झरेको छ । कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने सञ्चालन आयमा पनि गिरावट आएको छ । चालु आवको दोस्रो त्रैमासिकसम्म टेलिकमले १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ सञ्चालन आय गरेको छ, जुन गत वर्षको तुलनामा २९ करोड ४८ लाख रुपैयाँले न्यून हो । कम्पनीको कुल आय पनि करिब १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ । टेलिकमले कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख आर्जन गरेको छ, जसमा गत वर्षको तुलनामा ४.५९ प्रतिशतको गिरावट देखिएको छ ।

नाफा घट्नुको मुख्य प्राविधिक कारणमा ओभर दि टप सेवाहरूको बढ्दो लोकप्रियतालाई लिइएको छ । ह्वाट्सएप, भाइबर जस्ता एपका कारण भ्वाइस कल र एसएमएस सेवाको प्रयोगमा कमी आउँदा अन्तर-आबद्धता आय ८ करोड ५ लाख रुपैयाँले घटेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घट्दै जाँदा कम्पनीले आफ्नो मौज्दात रकमबाट प्राप्त गर्ने ब्याज आम्दानीमा ३२ प्रतिशत अर्थात् ७४ करोड ६३ लाख रुपैयाँको ठूलो ह्रास व्यहोर्नुपरेको छ । यसका साथै सेवाको दररेट निर्धारण सम्बन्धी नियमहरूमा भएको परिवर्तनले गर्दा पनि राजश्वमा अपेक्षित सुधार हुन नसकेको कम्पनीको दाबी छ ।

आन्तरिक खर्च व्यवस्थापनमा पनि टेलिकमलाई चुनौती थपिएको देखिन्छ। योगदानमा आधारित पेन्सन योजनाको दायित्व गणना गर्दा डिस्काउन्ट रेट ७.५ बाट ७ प्रतिशतमा झारिएकाले र कर्मचारी बीमाको प्रिमियम बढेकाले कर्मचारी खर्च ११.५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, जिन्सी मौज्दातमा गरिएको खर्च व्यवस्थाका कारण इम्पेयरमेन्ट खर्च १८.३५ करोड रुपैयाँले बढेको छ। राष्ट्रिय दायित्व अन्तर्गत दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा लागत बढी र प्रतिफल कम हुने भएकाले पनि मुनाफामा असर परेको टेलिकमले जनाएको छ।

विदेशी मुद्रा सटही दरमा भएको परिवर्तनले गर्दा कम्पनीलाई सटही नाफामा भने केही राहत मिलेको छ। अघिल्लो वर्षको तुलनामा सटही नाफा १५० प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ। यद्यपि, चालु वर्षको कर दायित्व गत वर्षको तुलनामा ५५।५६ प्रतिशतले बढेको छ। गत वर्ष विगतको नोक्सानी समायोजन भएकाले कर रकम कम देखिएकोमा यस वर्ष त्यो सुविधा नहुँदा कर खर्च बढ्न पुगेको हो। यी विविध कारणहरूको समिश्रणले गर्दा टेलिकमको समग्र वित्तीय स्वास्थ्यमा यस वर्ष केही दबाब परेको देखिएको छ।

1

Scroll to Top