सञ्चारमन्त्री तथा सांसद डा. विक्रम तिमिल्सिना र तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङबीच भएको भेटमा तादी गाउँपालिका–२ मुडुलेडाँडामा नेपाल टेलिकमको टावर राख्ने प्रक्रिया अघि बढेको छ। नुवाकोटमा कमजोर मोबाइल तथा इन्टरनेट सेवाको समस्या समाधान गर्न यो कदम चालिएको हो।
छलफलका क्रममा अध्यक्ष तामाङले खरानीटारलाई प्रशासनिक केन्द्र बनाउन मालपोत र नापी कार्यालय स्थापनाको माग गरे। साथै, तादी आधारभूत अस्पताललाई क्षेत्रीयस्तरको बनाउन मेडिकल सुपरिटेन्डेन्ट, पोस्टमार्टम सेवा र अन्य स्वास्थ्य पूर्वाधारको माग राखिएको छ।
वर्षायाममा बढ्ने बाढीपहिरोको जोखिमबाट बच्न तीन तहका सरकारबीच सहकार्य गर्ने सहमति भएको छ। यसका साथै तादी गाउँपालिकामा सडक कालोपत्रे, सिँचाइ, खानेपानी र अमरज्योति माविमा क्षेत्रीय रंगशाला निर्माणका लागि बजेट माग गरिएको छ।
मन्त्री तिमिल्सिनाले स्थानीय तहबाट आएका मागहरूलाई संघीय सरकारको क्षेत्राधिकारभित्र रहेर प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले यसअघि पनि नुवाकोटको ककनी गाउँपालिका र विद्युत् प्राधिकरणसँग छलफल गर्दै निरन्तर विकासका काम अघि बढाइरहेका छन्।


