म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा महत्वपूर्ण सफलता मिलेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाको छहरीस्थित अडिटदेखि भारवाङमा बन्दै गरेको विद्युत्गृहतर्फ जोड्ने २,५०६.३९ मिटर लामो सुरुङको हालै ‘ब्रेक थ्रु’ भएको हो ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीदेखि बाँधस्थल खाम्लातर्फको कुल ३,२८३.३२ मिटर सुरुङमध्ये १,९७३ मिटर निर्माण भइसकेको छ भने बाँकी भाग पनि केही महिनाभित्रै छेड्ने लक्ष्य राखिएको छ । विसं २०८१ भदौदेखि मुख्य सुरुङ खन्न थालेको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले तीव्रताका साथ काम गरिरहेको छ ।
हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको यो आयोजना आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यद्यपि, बर्खायाममा बेनी–दरबाङ सडक खण्डको फापरखेतमा जाने पहिरो, दुखुखोला सडक पुलको जोखिम र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइजस्ता यातायात तथा पूर्वाधारसम्बन्धी चुनौतीहरूले निर्माण कार्यमा केही बाधा पुर्याएका छन् । यी व्यवहारिक कठिनाइका बाबजुद पनि बाँध, सुरुङ, विद्युत्गृह लगायत हाइड्रो र इलेक्ट्रोमेकानिकल क्षेत्रका कामहरूलाई एकसाथ अगाडि बढाइएको छ । परामर्शदाताका रूपमा ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्राली रहेको यस आयोजनाको मेकानिकल तथा इलेक्ट्रो(मेकानिकल ठेकेदार छनोटको प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ ।
कुल ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजना रन अफ द रिभर (नदीको बहावमा आधारित) प्रकृतिको हो । सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी (ऊर्जा डेभलपर्स प्रालीसँग सम्बद्धर) सर्वसाधारणको सेयर लगानीमा बन्दै गरेको यस आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । आयोजनाबाट उत्पादित बिजुलीलाई १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत डाँडाखेतस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडेर वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा योगदान पुर्याउने रणनीति बनाइएको छ ।


