Banijya News

नेपाली स्टार्टअपको उतारचढावका मुख्य कारणहरु

1
1.1K Shares

केही वर्षअघिसम्म काठमाडौँका गल्लीहरूमा स्टार्टअपु शब्दले एउटा छुट्टै उत्साह पैदा गरेको थियो । ठुला होटलका सेमिनार हलहरूमा ‘नेक्स्ट बिग थिङु’ को चर्चा हुन्थ्यो, विदेशी लगानीकर्ताहरू नेपाल आउने क्रम बढ्दै गएको थियो, र चम्किला कार्यालयहरूमा सयौँ युवाहरूले आफ्नो भविष्य देखिरहेका थिए । तर, आज समय फेरिदै गएको छ । करोडौँको लगानी र अर्बौँको मूल्याङ्कन गरिएका कतिपय स्थापित स्टार्टअपहरू अहिले न बजारमा देखिन्छन्, न त उनीहरूका एप चल्छन् । आखिर कुन रहस्यले ती चम्किला सपनाहरूलाई एकैरातमा गुमनाम बनाइदियो ? यो केवल व्यापारिक असफलता मात्र नभएर, एउटा गम्भीर अर्थ-राजनीतिक र व्यवस्थापकीय प्रश्न चिन्ह उठेको छ ।

नेपालमा स्टार्टअप पतनको सबैभन्दा ठुलो र पहिलो कारण बर्न रेट (खर्च गर्ने दर) को गलत बुझाइ हो । धेरैजसो नेपाली स्टार्टअपहरूले सिलिकन भ्याली वा छिमेकी देश भारतको मोडललाई हुबहु कपी गरे । उनीहरूको रणनीति नाफा कमाउने भन्दा पनि डिस्काउन्ट दिएर बजार कब्जा गर्नेमा मात्र केन्द्रित रह्यो । लगानीकर्ताको पैसाले ग्राहकलाई सस्तोमा सामान वा सेवा बाँड्ने काम त भयो, तर जब लगानीको स्रोत सुक्यो, ग्राहकहरू पनि गुम भए ।

बजारको वास्तविक माग र क्रयशक्तिलाई नबुझी केवल विदेशी लगानीको भरमा क्यास बर्न गरेर साम्राज्य खडा गर्न खोज्नु नै यी स्टार्टअपहरूका लागि हानिकारक प्रभाव देखिन गयो । दोस्रो प्रमुख कारण नेपालको अस्थिर र अस्पष्ट सरकारी नीति हो । नेपालमा नयाँ प्रविधि र आइडियामा आधारित व्यवसायका लागि न त छुट्टै कानुन छ, न त लगानी फिर्ता लैजान सहज बाटो नै, राइड सेयरिङ कम्पनीहरूले वर्षौँसम्म कानुनी मान्यताका लागि सङ्घर्ष गर्नुपर्यो भने डिजिटल वालेट र इ-कमर्स कम्पनीहरू अझै पनि झन्झटिलो कर प्रणालीको मारमा परेका छन् ।

नयाँ इनोभेसनलाई प्रोत्साहन गर्नुको साटो राज्यले पुरानै ऐन-नियमको डन्डा देखाएर निरुत्साहित गर्दा कतिपय प्रतिभावान उद्यमीहरूले आफ्नो व्यवसाय बन्द गरेर विदेश पलायन हुने बाटो रोज्न बाध्य बनेका छन । विदेशी लगानी भित्र्याउन पाइने तर नाफा लैजान नमिल्ने वा निकै कठिन प्रक्रिया हुने भएपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी घटाउन पुगेका हुन, जसले गर्दा यहाँका स्टार्टअपहरू बिचैमा अलपत्र परेको देखिन्छ । यसका साथै, आन्तरिक व्यवस्थापन र को-फाउन्डरु हरु बीचको कलहले पनि धेरै स्टार्टअपको जग हल्लाइदिएको छ ।

धेरैजसो कम्पनीहरूमा संस्थापकहरू प्रविधिमा त दक्ष थिए, तर उनीहरूमा व्यापारिक अनुभव र वित्तीय अनुशासनको अभाव देखियो । लगानीकर्ताबाट आएको पैसालाई व्यवसाय विस्तारमा भन्दा पनि विलासी कार्यालय, मँहगा गाडी र अनावश्यक (मार्केटिङ) मा खर्च गर्ने प्रवृत्ति हाबी भयो । जब कम्पनीले पहिलो संकट भोग्यो, सञ्चालकहरूबीच विवाद सुरु भयो र पारदर्शिताको अभावमा लगानीकर्ताहरूले थप पैसा हाल्न बन्द गरे । कतिपय चर्चित स्टार्टअपहरू त संस्थापकहरूको व्यक्तिगत अहंकार र आर्थिक अपारदर्शिताका कारणले मात्र डुब्न पुगेका छन ।

नेपालको सानो बजार पनि स्टार्टअपहरूका लागि अर्को चुनौती बन्यो । १० करोड जनसंख्या भएको देशको मोडललाई ३ करोड जनसंख्या भएको र भौगोलिक रूपमा विकट नेपालमा लागू गर्दा विस्तार गर्ने क्षमता मा समस्या आएको हो । काठमाडौँ केन्द्रित व्यापारले मात्र ठुलो लगानीको प्रतिफल दिन नसक्ने भएपछि लगानीकर्ताहरूले आफ्नो ध्यान मोडेका हुन । यसले गर्दा हिजोका दिनमा (युनिकर्न) बन्ने सपना देखेका कम्पनीहरू आज अस्तित्व रक्षाका लागि सङ्घर्ष गरिरहेका छन् वा गुमनाम भइरहेको देख्न सकिन्छ ।

अर्बौँको लगानी डुब्नु नेपाली अर्थतन्त्रका लागि ठुलो शिक्षा हो । स्टार्टअप केवल (ग्ल्यामर र फन्डिङ) को खेल मात्र होइन, यो एउटा दिगो समस्याको समाधान हुनुपर्छ । हिजोका दिनमा जुन कम्पनीहरू गुमनाम भए, उनीहरूले छोडेर गएको एउटै सन्देश छ— ‘जमीनमा खुट्टा नटेकी आकाशमा महल बनाउन खोज्दा पतन निश्चित छ ।’ अबको स्टार्टअप पुस्ताले केवल लगानीको पछि नदौडी नेपाली माटो सुहाउँदो, नाफामूलक र कानुनी रूपमा सुरक्षित बाटो रोज्नुपर्ने देखिन्छ । यी गुमनाम भएका कथाहरूले भोलिका सफल उद्यमीहरूका लागि एउटा मार्गदर्शनको काम गर्नेछन्, ताकि भविष्यमा फेरि कसैको मेहनत र लगानी खेर नहोस ।

1

Scroll to Top