Banijya News

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा कसले मार्ला बाजी ?

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघमा आज (शुक्रबार) वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । महासंघको संशोधित विधानअनुसार निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ ।

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार शुक्रबार बिहान ९ बजे बस्ने कार्यकारिणी समितिको दोस्रो बैठकबाट दुवै पदमा पदपूर्ति हुनेछ । महासंघ अध्यक्ष श्रेष्ठले निर्वाचनअघि ६ जना कार्यकारिणी समिति सदस्य मनोनित गर्ने र तिनको शपथ समेत शुक्रबार नै गर्ने कार्यक्रम रहेको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन रोक्न पूर्व उपाध्यक्षद्वय किशोर प्रधान र हेमराज ढकालसहित नरेन्द्र खड्का र प्रल्हाद दाहालले हालेको मुद्दामा बिहीबार अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन सुनिश्चित भएको हो । अध्यक्ष श्रेष्ठका अनुसार पाटन उच्च अदालतले अन्तरिम आदेश नदिएका कारण शुक्रबारका लागि निर्धारित वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन प्रक्रिया पूर्वनिर्णय अनुसार नै सञ्चालन हुनेछन् ।

अदालतले अन्तरिम आदेश दिनु नपर्ने फैसला दिइसकेका कारण निर्वाचन कार्यतालिका यथावत् रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।

महासंघमा निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था खारेज भइसकेको छ । यद्यपि, यस पदका लागि पूर्व उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, रामचन्द्र संघई र किशोर प्रधान आकांक्षी छन् । यसबाहेक पूर्व कोषाध्यक्ष भरतराज आचार्यको पनि वरिष्ठ उपाध्यक्षमा दाबी रहेको छ ।

महासंघ कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल, मनिषलाल प्रधान र भक्त हमालको नाम चर्चामा छ । पौडेल अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट एशोसिएट सदस्यमा निर्वाचत हुन् भने हमाल पूर्व उपाध्यक्ष ढकाल समूहबाट वस्तुगत सदस्यमा निर्वाचित भएका थिए । प्रधानलाई कोषाध्यक्ष चुनाव लड्न अध्यक्ष श्रेष्ठले कार्यकारिणी समिति सदस्य मनोनित गर्नुपर्नेछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका लागि एक कार्यकाल पदाधिकारी भइसकेको वा तीन कार्यकाल सदस्य भएको व्यक्ति योग्य हुनेछन् । यस पदका लागि बहालवाला सदस्य हुनुपर्ने बाध्यता छैन । तर, कोषाध्यक्षका लागि दुई कार्यकाल सदस्य भइसकेको र हाल कार्यकारिणी समिति सदस्यमा बहाल रहेको हुनुपर्ने व्यवस्था विधानमा रहेको छ ।

1

Scroll to Top