Banijya News

डीडीसीको केन्द्रीय कार्यालयमा सीआईबीको छापा

1
1.0K Shares

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ । आर्थिक अनियमितता र व्यवस्थापकीय कमजोरी रहेको आशंकामा लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयमा बुधबार सिआईबीको टोलीले आकस्मिक अनुसन्धान गरेको हो ।
सिआईबीको टोलीले कार्यालयमा रहेका ५ जना कर्मचारीका मोबाइल फोनहरू नियन्त्रणमा लिएको छ । संस्थानभित्र हुने आन्तरिक सञ्चार र सम्भावित साँठगाँठबारे अनुसन्धान गर्न मोबाइल जफत गरिएको डीडीसीका महाप्रबन्धक डा.शरणकुमार पाण्डेयले बताए ।
मोबाइलसँगै टोलीले दूध खरिद–बिक्रीसँग सम्बन्धित महत्वपूर्ण कागजात, मौज्दात विवरण र पछिल्ला तीन वर्षका सञ्चालक समितिका निर्णयका फाइलहरू पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बिक्री गर्दै आए पनि लामो समयदेखि किसानलाई भुक्तानी दिन सकेको छैन । हाल संस्थानले देशभरका किसानलाई करिब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । एकातिर किसानले पैसा नपाउने र अर्कोतिर संस्थानको आर्थिक अवस्था बिग्रँदै गएपछि सिआईबीले दूध खरिद–बिक्री प्रक्रिया र आर्थिक कारोबारमा कैफियत रहेको आशंकामा अनुसन्धान थालेको हो ।
डीडीसी स्रोतका अनुसार, सिआईबीको टोलीले विशेषगरी दूधको खरिद दर, बिक्री परिमाण, मौज्दातको अवस्था र किसानलाई भुक्तानी गर्न बाँकी विवरणहरू मागेको छ ।

1

Scroll to Top